काठमाडौं, वैशाख १६ — शिक्षा क्षेत्रको सुधारका मागसहित आन्दोलनरत शिक्षक महासंघ आन्तरिक रणनीति निर्माणमै अल्झिँदा सरकारसँगको महत्वपूर्ण वार्ता आज पनि रोकिएको छ। दिउँसोदेखि जारी बैठक अझै नसकिँदा शिक्षामन्त्री रघुजी पन्त शिक्षक नेताहरूको पर्खाइमै बसेका छन्।
शिक्षक महासंघले आन्दोलनलाई कसरी अगाडि लैजाने र सरकारसँगको वार्तामा के-कस्ता माग राख्ने भन्ने विषयमा सहमति जुटाउने प्रयासमा बैठक लम्बिएको हो। बैठकमा सहभागी एक शिक्षक नेताका अनुसार, विभिन्न धारणा र मतको कारण बैठक निष्कर्षमा पुग्न सकेको छैन।
“बोल्ने क्रम अझै सकिएको छैन,” ती नेताले बताए, “सबै पक्षको धारणा बुझेर मात्र एकमत बनाएर वार्तामा जाने तयारी हो।”
शिक्षा मन्त्रालयका अधिकारीका अनुसार, शिक्षामन्त्री पन्त वार्ताको लागि तयारी अवस्थामा भए पनि शिक्षक प्रतिनिधिहरू नआएकाले संवाद अघि बढ्न सकेको छैन।
यसअघि सोमबार रातिको वार्ता सकारात्मक रहेको भनिए पनि मंगलबार हुने भनिएको सहमति प्रक्रिया आजसम्म अघि बढ्न सकेको छैन।
शिक्षक आन्दोलनले विद्यालय शिक्षाको निरन्तरता र विद्यार्थीकै भविष्यप्रति असर पार्ने अवस्था सिर्जना गरेको भन्दै अभिभावक तथा सरोकारवालाले दुबै पक्षलाई चाँडो निष्कर्षमा पुग्न आग्रह गरेका छन्।