काठमाडौं, वैशाख १५ — लजिस्टिक्स र स्मार्ट भण्डारण सेवा क्षेत्रमा क्रान्तिकारी कदमस्वरूप भारतको ‘एयरएटिस’ नामक स्टार्टअप कम्पनीले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ। कम्पनीले लाजिम्पाटस्थित होटल एम्बेसडरमा आयोजित एक विशेष कार्यक्रममा नेपाल आगमनको घोषणा गरेको हो।
अब नेपाली प्रयोगकर्ताले घरमै बसेर डिजिटल माध्यममार्फत भण्डारण, ढुवानी, डेलिभरी र रिलोकेशन जस्ता लजिस्टिक्स सेवाहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन्। कम्पनीले विशेष गरी ‘स्मार्ट स्टोरेज’ अर्थात् स्थानको अभावमा सामान सुरक्षित राख्न चाहने ग्राहकका लागि समाधान ल्याएको छ।
एयरएटिसका संस्थापक तथा सीईओ आदित्य कालेले, “नेपालमा भण्डारणको आवश्यकता दैनिक जीवनमै महसुस गर्न थालिएको छ। त्यसैले यो सेवा अब केवल विकल्प होइन, शहर जीवनको अपरिहार्य हिस्सा बन्दै जान्छ,” भने।
कम्पनीले सुरुवाती चरणमा काठमाडौंमा सेवा सुरु गरेको र छिट्टै पोखरा र बीरगञ्जजस्ता मुख्य सहरहरूमा विस्तार गर्ने योजना बनाएको जानकारी दिएको छ।
कार्यक्रमको मुख्य आकर्षण बनेको थियो— ‘म आइडिया टू एक्सिक्युशन: व्हाट मेक्स अ स्टार्टअप स्ट्यान्ड आउट’ शीर्षकको प्यानल छलफल, जहाँ नेपालका लजिस्टिक्स तथा स्टार्टअप क्षेत्रका प्रमुख व्यक्तित्वहरूको उपस्थिति थियो। छलफलमा 88 Collective का संस्थापक ऋतिक अर्यालले संयोजन गरेका थिए भने उपाय सिटी कार्गो, दराज नेपाल, मेरो स्टोरेज र एयरएटिस का संस्थापकहरूको गहन सहभागिता थियो।
उपाय सिटी कार्गोका संस्थापक समुन्न रायमाझीले भने, “सुरुमा मानिसहरू लजिस्टिक्सको महत्त्वप्रति सचेत थिएनन्, तर आज स्थिति बदलिएको छ। अहिलेको उपभोक्ता वेयरहाउस, ट्र्याकिङ, फुलफिलमेन्टजस्ता सेवाको गहिरो मूल्य बुझ्न थालेका छन्।”
एयरएटिसको यस आगमनले घरधनीका लागि आम्दानीको स्रोत र ग्राहकका लागि सहज सेवाको संयोजन ल्याउने दाबी गरिएको छ। आधुनिक लजिस्टिक्स संरचनामा नेपालको सहभागिता अब ‘स्टार्टअप नेपाल’ को अर्को अध्याय बन्ने निश्चित देखिन्छ।