जनकपुरधाम — जम्मू–कश्मीरको पहलगाममा भएको आतंकी आक्रमणमा ज्यान गुमाएका नेपाली नागरिक सुदीप न्यौपानेप्रति श्रद्धाञ्जली तथा घटनाको न्यायिक छानबिनको माग गर्दै जनकपुरधाममा हजारौं नागरिकले सडक प्रदर्शन गरेका छन्।
‘आतंकवाद मुर्दाबाद’, ‘सुदीपलाई न्याय दे’, ‘पाकिस्तान होशियार’ भन्ने नारासहित गरिएको प्रदर्शनले केवल एक जनाको मृत्युको विरोध मात्र नभई, खुला सीमा सुरक्षा र नेपाली नागरिकको अन्तर्राष्ट्रिय सुरक्षाको सवाल समेत उठाएको छ।
नेपाल–भारत खुला सीमा संवाद समूहको आयोजनामा जनकचोकमा आयोजित प्रदर्शनले आन्तरिक एकता र छिमेकी राष्ट्रहरूप्रति स्पष्ट सन्देश दिएको छ— “अब मौन बस्दैनौं”। प्रदर्शनको क्रममा पाकिस्तानी सेना प्रमुख जनरल आसिफ मुनिरको पुतला दहन गर्दै, उनले आतंकवादप्रति देखाएको सहानुभूतिको कडा विरोध जनाइएको थियो।
कार्यक्रममा हिन्दू र मुस्लिम युवाहरूको संयुक्त सहभागिता अन्तरधार्मिक एकताको उदाहरण बनेको थियो। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष दिपेन्द्र साह, पूर्वजिसस उपप्रमुख दीपक झा, नेता चन्देश्वर साह, अभियानी राम जीवन साह, कृष्ण कुमार साहलगायत समाजका अगुवाहरूले आतंकवादको विरुद्ध आवाज उठाउनु समयको आवश्यकता भएको बताएका थिए।
संवाद समूहका प्रदेश सह–अध्यक्ष दीपक यादव र संस्थाका अध्यक्ष डा. राजीव झाको उपस्थितिमा भएको कार्यक्रममा नेताहरूले सुदीपको हत्या मात्र होइन, नेपाली नागरिकको सम्मान र सुरक्षा अब उपेक्षित गर्न नहुने चेतावनी पनि दिएका थिए।
“सिमाना खुला छ, तर आँखा बन्द छैन,” भन्ने भावनासहित संवाद समूहले आगामी दिनहरूमा सीमा सुरक्षासम्बन्धी विषयमा जनचेतना अभिवृद्धि र कूटनीतिक पहलमार्फत आवाज बुलन्द बनाउने प्रतिबद्धता जनाएको छ।
लेखकको बारेमा

प्रतिक्रिया