काठमाडौं, १६ वैशाख — अमेरिकाबाट फर्किएको पूर्वप्रहरीको नाटक र यार्सागुम्बा व्यापारमा लगानी गरे फाइदा हुने प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने एक युवक काठमाडौंमा पक्राउ परेका छन्।
जाजरकोट नलगाड नगरपालिका–७ दल्ली घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका ४१ वर्षीय दीपेन्द्र सिंहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित एक दोहोरी साँझबाट नियन्त्रणमा लिएको हो।
सिंहले सामाजिक सञ्जाल प्रयोग गरी आफूलाई अमेरिकाबाट फर्किएको पूर्वप्रहरी भनेर चिनाउने र मानिसहरूलाई यार्सागुम्बा व्यापारमा लगानी गराउँदा ठूलो नाफा हुने भन्दै ठगी गर्ने गरेको अनुसन्धानमा खुलेको छ।
प्रहरीका अनुसार उनले हालसम्म ३६ लाख २ हजार १६६ रुपैयाँ ठगी गरिसकेका छन्। यतिमात्र होइन, सिंहमाथि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ३० लाखको बैंकिङ कसुर, बाँकेमा प्रहरीमा भर्ना गराइदिने भन्दै १० लाख ठगी, र कोहलपुरमा सेनामा भर्ती गराइदिने नाममा ४ लाख ठगीको छुट्टाछुट्टै मुद्दा दायर छन्।
सिंहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको एसपी अंगुर जिसीले जानकारी दिएका छन्।