काठमाडौं । पुल्चोक क्याम्पस ग्राउन्डमा आगामी १४ डिसेम्बर (मङ्सिर २९ गते) आयोजना हुने पुल्चोक म्युजिक फेस्ट २०२४ ले सांगीतिक उत्साहको नयाँ अध्याय थप्ने तयारी गरेको छ। ऐतिहासिक रूपमा प्रतिष्ठित पुल्चोक म्युजिक क्लबले यस वर्ष झन् भव्य र रोमाञ्चक कार्यक्रमको योजना बनाएको हो । जहाँ चर्चित कलाकारहरूको दमदार प्रस्तुति र विविध आकर्षणहरू हुनेछन्।
उक्त कार्यक्रममा सविन राई एण्ड द फिराओ, रकहेड्स र सुशान्त र रागा जस्ता अति नै लोकप्रिय कलाकारहरूले आफ्नो प्रस्तुति दिनेछन्। यी कलाकारहरूका साथमा उदाउँदै गरेका प्रतिभाशाली १२ भन्दा बढी ब्यान्डहरूले समेत दर्शकलाई मन्त्रमुग्ध पार्नेछन्।
कार्यक्रम बिहान १० बजेदेखि बेलुका ८ बजेसम्म चल्नेछ, जहाँ १०,००० भन्दा बढी दर्शकहरूको उपस्थितिको अपेक्षा आयोजकले गरेको छ।
दोस्रो चरणका टिकटहरू आईएमई पे मार्फत रु.५०० मा उपलब्ध गराइएको छ जहाँ इच्छुक दर्शकहरूले अनलाइनमार्फत आफ्नो टिकट सुरक्षित गर्न सक्नेछन्। सांगीतिक प्रस्तुतिसँगै महोत्सवमा विविध स्वादिष्ट परिकारहरू पाइने फुड स्टलहरू र अन्य मनोरञ्जनात्मक गतिविधिहरू पनि सञ्चालन गरिनेछ ।
पुल्चोक म्युजिक फेस्टले विगतका वर्षहरूमा आफ्नो विशिष्ट पहिचान बनाउँदै भव्य प्रदर्शन र सामुदायिक भावनाको प्रतीक बनेको छ। यस वर्षको संस्करणले यो परम्परालाई अझ उच्च स्तरमा पुर्याउने आयोजकले अपेक्षा गरेको छ। संगीतप्रेमी सबैलाई लक्षित गर्दै यो कार्यक्रमको भव्य तयारी गरिदै छ।