काठमाडौं, १६ वैशाख – औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले १५ करोड रुपैयाँ रकम ६ महिनाका लागि मुद्दती निक्षेपमा राख्ने तयारी गरेको छ। कम्पनीले उक्त रकम निक्षेपमा राख्न इच्छुक ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई गोप्य शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको छ।
कम्पनीका अनुसार इच्छुक बैंकहरूले आगामी वैशाख २२ गते साँझ ५ बजेसम्म आफ्नो प्रस्ताव गोप्य शिलबन्दीमार्फत पेश गर्नुपर्नेछ। शिलबन्दी प्रस्ताव कम्पनीको वेबसाइटबाट फाराम डाउनलोड गरी तयार पार्न सकिने व्यवस्था गरिएको छ।
पेश भएका प्रस्तावहरू वैशाख २३ गते मध्यान्ह १२ बजे खोलिने कम्पनीले जनाएको छ। कम्पनीले प्रस्तावको मूल्यांकनपछि उच्चतम ब्याजदर प्रस्ताव गर्ने बैंकसँग मुद्दती निक्षेप सम्झौता गर्ने बताएको छ।
यस किसिमको लगानीबाट कम्पनीले छोटो अवधिमा सुनिश्चित आम्दानी गर्ने लक्ष्य राखेको जनाइएको छ।