काठमाडौं, १६ वैशाख – नेपाल राष्ट्र बैंकले डेबिट, क्रेडिट र प्रिपेड कार्डजस्ता विद्युतीय कार्ड प्रयोग गर्दा आवश्यक सम्पूर्ण जानकारी लिन उपभोक्ताहरूलाई सचेत गराएको छ। मंगलबार सार्वजनिक गरेको सूचनामार्फत राष्ट्र बैंकले कार्ड लिँदा शुल्क, कारोबार सीमा र अतिरिक्त सुविधाजस्ता पक्षमा स्पष्ट जानकारी लिन आग्रह गरेको हो। राष्ट्र बैंकको भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ अनुसार अब बैंक तथा वित्तीय संस्थाले विद्युतीय कार्ड जारी गर्दा ग्राहकलाई सेवा सम्बन्धी सबै विवरण आवेदन फारमसँगै उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। विशेषगरी क्रेडिट कार्ड प्रयोगमा लाग्ने ब्याजदर, शुल्क र अन्य शर्तहरूबारे जानकारी नलिएर पछि समस्यामा पर्न सक्ने भन्दै राष्ट्र बैंकले उपभोक्ताहरूलाई पहिले नै सम्पूर्ण विवरण बुझ्न आग्रह गरेको हो। राष्ट्र बैंकले विद्युतीय भुक्तानी सेवाको सहज र सुरक्षित प्रयोग सुनिश्चित गर्न उपभोक्तालाई सचेत रहन र सेवा प्रदायकसँग सबै प्रावधानबारे स्पष्ट जानकारी लिएर मात्रै सेवा लिन सुझाव दिएको छ।