काठमाडौं- नेपाल मैदा उद्योग संघको २४ औं वार्षिक साधारण सभा होटल हिल्टन, काठमाडौंमा सम्पन्न भएको छ। यस अवसरमा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भन्डारीको प्रमुख आतिथ्य र नेपाल मैदा उद्योग संघका अध्यक्ष श्री कुमुद दुगडको सभापतित्वमा विशेष कार्यक्रम आयोजना गरियो।
यस कार्यक्रमको प्रमुख आकर्षण भनेको नेपालको कृषि क्षेत्रलाई सशक्त बनाउनका लागि नेपाल मैदा उद्योग संघ र भारतको ब्नचष्धबतअज कम्पनीबीच भएको ऐतिहासिक सम्झौतामा हस्ताक्षर थियो। यो सम्झौतामा भु-उपग्रह (सय) को प्रयोग मार्फत नेपालका कृषि क्षेत्रको पहिचान र विकास गर्ने उद्देश्य राखिएको छ। यो सम्झौताले नेपालको गहुँ उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने दिशामा ठूलो कदम उठाएको छ, जसका लागि वैज्ञानिक आधारमा बालीको तथ्यांक संकलन र कृषकहरूको समस्याको गहिरो विश्लेषण गरिनेछ।
सम्झौताबाट नेपालले विभिन्न फाइदाहरू प्राप्त गर्नेछ, जसमा कृषि बजार सूचना र विश्लेषण, कृषि वस्तुहरूको अनुसन्धान र परामर्श, कृषि निवेश अध्ययन र सल्लाह, डिजिटल कृषि समाधानहरू, र कृषि समाचार तथा जानकारी समावेश छन्। यसले कृषकहरूलाई आधुनिक प्रविधिको उपयोगमा सक्षम बनाउँदै कृषि उत्पादनको परिमाण र निर्यातलाई द्रुत गतिमा बढाउने छ।
नेपाल र भारत बीचको कृषि क्षेत्रमा सहकार्यलाई अझ बलियो बनाउँदै, भारतीय सरकारको राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनसीईएल) का प्रबन्ध निर्देशक श्री अनुपम कौशिक पनि कार्यक्रममा उपस्थित थिए। भारतले नेपाललाई कृषि क्षेत्रका विभिन्न सामग्री जस्तै गहुँ र चिनी आपूर्ति गरेको इतिहासलाई ध्यानमा राख्दै, नेपाल र भारतको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउनका लागि सहकार्यलाई नयाँ ऊचाइमा पुर्याउने प्रतिबद्धता जनाइएको छ।
कार्यक्रममा नेपालकै प्रमुख मैदा उद्योग खाद्य उद्योग लिमिटेडका संस्थापक अध्यक्ष श्री रविन्द्र बहादुर श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो, जसले नेपालको खाद्य उद्योगमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्याएका छन्।
यो कार्यक्रम नेपाल उद्योग संघका लागि एक ऐतिहासिक दिनका रूपमा चिनिनुका साथै कृषि, उद्योग र व्यापार क्षेत्रका विकासमा नयाँ अवसरहरूको सृजना गर्ने दिशामा एउटा ठूलो कदम साबित भएको छ।