+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटन

रङ्गीचङ्गी गाउँ जस्तै सगरमाथा आधार शिविर, साहसिक पर्यटनमा नयाँ उत्साह

जनवाच
५ घण्टा अगाडी

५ वैशाख, काठमाडौं- सगरमाथा आधार शिविर अहिले सिंगो विश्वका साहसी मनहरूको मिलनस्थल बनेको छ। रंगीचंगी पालले सजिएको, उल्लास र उमंगले भरिएको यो शिविर अहिले सधैंजस्तै पर्वतारोहण मात्र होइन, नेपालकै साहसिक पर्यटनको गौरवपूर्ण परिचय बनेर उभिएको छ।

विश्वभरिका ५३ देशका ४०२ आरोहीहरू सगरमाथाको चुचुरो छुने सपना बोकेर यहाँ भेला भएका छन्। आधार शिविरमा पाँच सयभन्दा बढी टेन्ट टाँगिएका छन् भने करिब १३०० जनाले आफ्नो कर्मभूमि बनाएका छन् — जसमा आरोहीदेखि सहयोगी, कुक र गाइड सम्म समावेश छन्।

“सगरमाथा आधार शिविर अहिले सानो संसार बनेको छ,” आधार शिविरमा रहेका लाक्पा शेर्पा भन्छन्, “यहाँ हरेक कुनामा उल्लास र उमंगको रङ्ग देखिन्छ।”

३० पटक सगरमाथा चढेर विश्व कीर्तिमान कायम गरिसकेका कामीरिता शेर्पा अहिले आफ्नो ३१ औं पटकको प्रयासमा छन्। उनीसँगै हजारौं आरोहीहरू पनि विश्वकै सर्वोच्च शिखर छुन अग्रसर छन्।

समुन्द्र सतहदेखि ५,३६४ मिटरको उचाइमा रहेको शिविरमा क्याफे, बार, लाउन्ड्रीजस्ता सुविधा पनि उपलब्ध छन्। यो न्यानोपन र सहजताको अनुभूति दिन सघाइरहेको छ। एटके एक्सपिडिसनका प्रबन्ध निर्देशक लाक्पा शेर्पाका अनुसार आधार शिविर अहिले बेहुलीझैँ सिँगारिएको छ।

यो सिजनका लागि आधार शिविरदेखि तेस्रो शिविरसम्मको बाटो पहिल्यै खुलिसकेको छ। अबको केही दिनभित्र चुचुरोसम्म डोरी टाँग्ने कार्य पूरा भई मुख्य आरोहण सुरु हुने अपेक्षा गरिएको छ।

यसपटक, सोलुखुम्बुका टासी ग्याल्जेन शेर्पा २० दिनभित्र चारपटक सगरमाथा चढ्ने तयारीमा छन्, जसले नयाँ विश्व कीर्तिमान थप्ने लक्ष्य बोकेको छ। अहिलेसम्म आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीहरूले सगरमाथाको शिखर चुमिसकेका छन् र यो क्रम अझै जारी छ।

सामाजिक सञ्जालमा चम्किएका हिमालका दृश्यहरू र आधार शिविरको रमाइलो वातावरणले नेपालको साहसिक पर्यटनलाई विश्वमञ्चमा थप उज्यालो बनाइदिएको छ। पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि संकलित रोयल्टी यसवर्ष मात्रै ६८ करोड ४० लाख रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ