+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पर्यटन

लुम्बिनीलाई विश्वको ध्यान केन्द्र बनाउन सरकारको दृढ संकल्प: मन्त्री पाण्डे

जनवाच
१३ घण्टा अगाडी

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लुम्बिनीलाई विश्वस्तरीय आध्यात्मिक अध्ययन र चिन्तन केन्द्रका रूपमा विकास गर्ने सरकारको प्रतिबद्धता पुनः स्पष्ट पार्नुभएको छ।

शनिबार लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवमा सम्बोधन गर्दै मन्त्री पाण्डेले लुम्बिनीको समग्र विकासका लागि गुरु योजनाविद् केन्जो टांगेको अवधारणालाई आधार मानेर रामग्राम, देवदह, तिलौराकोट, गोटिहवा र निग्लिहवा जस्ता ऐतिहासिक स्थलहरू समेट्दै एकीकृत विकास अगाडि बढाइने जानकारी दिनुभयो।

“लुम्बिनीलाई केवल भौतिक संरचनाको विकास होइन, स्थानीय समुदायको अपनत्व र प्रकृति–विकास सन्तुलनलाई समेत ध्यानमा राखेर अगाडि बढाइनेछ,” मन्त्री पाण्डेले भन्नुभयो। उहाँले बौद्ध धर्मावलम्बीहरूको भावना आत्मसात गर्दै धार्मिक पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मन्त्री पाण्डेले संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव उ थान्‌का सोच र दृष्टिकोणलाई आत्मसात गर्दै, अन्तर्राष्ट्रिय लुम्बिनी समिति (१६ राष्ट्रहरू सम्मिलित) लाई पुनः सक्रिय बनाउन यसै वर्ष बैठक बोलाइने बताउनुभयो। यस कदमले लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा थप प्रचार–प्रसार हुने अपेक्षा गरिएको छ।

तीन दिनसम्म सञ्चालन हुने चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सवमा थाईल्याण्ड, कम्बोडिया, चीन लगायत ५० मुलुकका भिक्षु तथा बौद्ध धर्मावलम्बीहरूको सहभागिता रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख अतिथि भएर उद्घाटन गर्नुभएको यस महोत्सवले लुम्बिनीलाई विश्वव्यापी धार्मिक तथा सांस्कृतिक पर्यटनको केन्द्रबिन्दु बनाउन ठूलो योगदान पुग्ने विश्वास गरिएको छ।

मन्त्री पाण्डेले लुम्बिनी विकास कोष ऐन संशोधन गरी संस्थागत संरचना र कार्यदक्षता अभिवृद्धि गरिने उल्लेख गर्दै, भावी दिनमा विकास कार्य थप प्रभावकारी बनाइने संकेत गर्नुभएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ