काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयकले संस्था विभाजन गर्न नभई, प्रणाली सुदृढ पार्न लक्ष्यित रहेको स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री पाण्डेले नेपालको आकाशलाई सुरक्षित, हवाई सेवा भरपर्दो बनाउन तथा अन्तर्राष्ट्रिय छवि मजबुत पार्न विधेयक केन्द्रित रहेको बताए। “संस्था टुक्र्याउने होइन, प्रणालीलाई बलियो बनाउने मुख्य ध्येय हो,” मन्त्री पाण्डेले भने, “दक्ष जनशक्ति निर्माण र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न यो विधेयक आवश्यक छ।”
नेपालको नागरिक उड्डयन क्षेत्रमा सुधार र अन्तर्राष्ट्रिय मापदण्डअनुसार अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै उनले नियामक निकाय र सञ्चालन पक्षलाई स्पष्ट रूपले छुट्ट्याउनुपर्ने बताएका छन्।
मन्त्री पाण्डेले भूगोल र मौसमका कारण नेपालमा हवाई सुरक्षामा थप चुनौती रहेको उल्लेख गर्दै नयाँ संरचना र नीति निर्माणको काम अघि बढाइएको जानकारी दिए। “पोखरा र भैरहवा विमानस्थल सञ्चालनमा ल्याइसकिएको छ, अब तिनको भरपूर उपयोग गर्नुपर्नेछ,” उनले भने।
नागरिक उड्डयन सुधारका लागि अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय संयन्त्र गठन भई बृहत् छलफल जारी रहेको र समितिको सिफारिसलाई ऐन र नीतिमा समेटिने योजना पनि मन्त्रीले संसदलाई जानकारी गराए।
हवाई दुर्घटनापछिको अनुसन्धान र बिमा व्यवस्थापन सुधारका लागि स्थायी संरचना बनाउने तयारी भइरहेको बताउँदै मन्त्री पाण्डेले नयाँ छाता ऐन निर्माणसमेत अगाडि बढाइएको उल्लेख गरे।