काठमाडौं – राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै आयोजित प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा जनमत बढ्दो अवस्थामा रहेको दाबी गर्दै नेताहरुलाई तत्काल एकढिक्का हुन आग्रह गरेका छन्। उनले ‘अन्तिम धक्का’ दिने बेला आएको भन्दै व्यक्तिगत स्वार्थ त्याग्न सबै पक्षलाई आह्वान गरे।
काठमाडौंको शान्तिवाटीकामा आयोजित सभामा थापाले गणतन्त्रवादी शक्तिको असफलताले स्वस्फूर्त रूपमा राजसंस्था र हिन्दु राष्ट्रको समर्थन बढेको बताए। “अहिलेको अवस्था हाम्रो लागि अनुकूल अवसर हो, चुप लागेर बस्यौं भने हाम्रो विचार र मान्यताको अन्त्य हुनेछ,” थापाले भावुक आवाजमा चेतावनी दिए।
थापाले समकालीन राजनीतिक नेतृत्वमाथि दमनको नीति अपनाएको आरोप समेत लगाए। उनले लोकतान्त्रिक मूल्य विपरीत शान्तिपूर्ण प्रदर्शनलाई रोक्न खोजिएको भन्दै कडा विरोध जनाए। “यदि कानुन बनाएर हाम्रो आवाज दबाउने प्रयास भयो भने, देशमा आगो बल्नेछ र त्यो आगोले यिनै दमनकारीहरूलाई जलाउनेछ,” थापाको कठोर चेतावनी थियो।
सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्ट तथा संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदी लगायतका नेताहरूले पनि सम्बोधन गरेका थिए। उनीहरूले राष्ट्रवादी शक्तिहरूबीच ऐक्यबद्धता आवश्यक रहेकोमा जोड दिएका थिए।
थापाले राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापनाका लागि नयाँ ढंगमा र उर्जा सहित आन्दोलन अघि बढाइने स्पष्ट पारे। व्यक्तिगत कुण्ठा र स्वार्थ त्यागेर एकढिक्का नहुने हो भने इतिहासले कठोर मूल्याङ्कन गर्ने चेतावनी दिंदै, उनले आगामी दिनहरूमा आन्दोलन थप सशक्त हुने संकेतसमेत गरे।