काठमाडौं । भन्सार शुल्कको प्रभाव सोमबार नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलमा १५ हजार ९ सय रुपैयाँले घट्दै १ लाख ५१ हजार ३ सय रुपैयाँमा झरेको हो ।
यसो हुनुको कारण सरकारले भन्सारदरमा गरेको परिवर्तन हो । सरकारले आइतबार एक निर्णय गर्दै सुनको भन्सारदर ५० प्रतिशतले घटाउदै १० प्रतिशतमा झार्ने निर्णय गरेको छ । यसअघि २० प्रतिशत रहेको भन्सारदर १० प्रतिशतमा झरेपछि सुनको मूल्यमा भारी गिरावट भएको हो ।
यसले बजारको माग बढाउने र राजस्व समेत बढ्नेमा सुनचाँदी व्यवसायीको भनाइ छ । यता सरकारले पनि भारतमा घटाइएको भन्सारका कारण नेपालमा पनि घटाउनु परेको बताएको छ ।
भारतले आफ्नो मध्यावधि बजेटमार्फत सुनको भन्सारदरमा ९ प्रतिशतले घटाउँदै ६ प्रतिशत कायम गरेको थियो । यसले नेपालतर्फ सुनको चोरी निकासी (अबैध आयात) बढ्ने खतरा बढेपछि भन्सारदर घटाइएको अर्थमन्त्रालयले जनाएको छ ।