काभ्रेपलाञ्चोक । नेपालमा दीर्घकालीन समाधान नपाई अलपत्र परेका रोहिंगा शरणार्थीहरू फेरि एकपटक स्थानान्तरणको अवस्थाबाट गुज्रिएका छन्। काभ्रेको धुलिखेल नगरपालिका–१२ शंखुमा अस्थायी रूपमा बसोबास गरिरहेका ११ परिवारका ४४ जना रोहिंगा शरणार्थीलाई बुधबार स्थानीय प्रशासनले काठमाडौं फिर्ता पठाएको छ।
कपनबाट शंखु पुगेका यी म्यानमार मूलका शरणार्थीहरू भाडामा घर लिई बसेका थिए। तर, स्थानीय जनप्रतिनिधि, प्रहरी र बासिन्दाहरूको समन्वयमा भएको छलफलपछि उनीहरूलाई पुनः काठमाडौं फर्कन निर्देशन दिइएको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी मिनबहादुर घलेका अनुसार, स्थानियको अवरोध र अस्थायी बसोबासको संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय लिइएको हो।
धुलिखेल अस्पतालमा रहेका तीन जना शरणार्थीहरूलाई भने तत्काल फिर्ता पठाइएको छैन। तीमध्ये एकजना महिला सुत्केरी भएकाले उनको परिवार अस्पतालमै छन् भने एकजना ललितपुरमा अध्ययनरत छन्।
शरणार्थीहरू यसअघि पनौती नगरपालिका–३ कुशादेवीमा पनि अस्थायी टहरा बनाएर बसेका थिए तर त्यहाँ पनि स्थानीयको विरोधपछि उनीहरूले ठाउँ छोड्नुपरेको थियो।
स्थायी पुनर्स्थापनाको स्पष्ट योजना नभएकाले नेपालमा रहेका रोहिंगा समुदाय बारम्बार यस्तै विस्थापनको चक्रमा परिरहेका छन्। न त उनीहरूसँग नागरिकता छ, न त वैधानिक पुनर्वासको ग्यारेन्टी, यस्तो असमञ्जसपूर्ण अवस्थाले उनीहरूको जीवन झन् जोखिमपूर्ण बनेको छ।