काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा देखिएको द्वन्द्वले राजनीतिक तापक्रम बढाइरहेका बेला नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको आकस्मिक बैठक बोलाएका छन्। गभर्नरमा पार्टीनिकट डा. गुणाकर भट्टराईलाई नियुक्त गर्न दबाब दिँदै आएका देउवाले बिहीबारसम्मको अल्टिमेटम दिएका थिए। तर सरकार पक्षबाट सकारात्मक संकेत नआएपछि उनले शुक्रबार बिहानका लागि पार्टी पदाधिकारी बैठक डाकेका हुन्। बैठक देउवा निवास बुढानीलकण्ठमा हुनेछ। कांग्रेस स्रोतका अनुसार बैठकमा राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी चर्किएको विवाद, सरकारको नीति तथा कार्यक्रम र भारत–पाकिस्तानबीचको तनावपूर्ण सम्बन्ध लगायत विषयमा छलफल हुनेछ। तर केन्द्रीय एजेन्डा भने भट्टराईको नियुक्ति सुनिश्चित गर्ने विषयमै केन्द्रित रहने जनाइएको छ। भट्टराई हाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हुन्, तर कायममुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले उनको राजीनामा स्वीकृत नगरेपछि उनी कानुनी रूपमा गभर्नरको प्रतिस्पर्धामा उभिन पाएका छैनन्। राष्ट्र बैंक ऐनअनुसार कार्यकारी निर्देशकले गभर्नर बन्न आवश्यक औपचारिकता पूरा गर्नुपर्ने हुन्छ, जुन ढुंगानाको असहमतिको कारण अवरुद्ध भएको छ। गभर्नरको कुर्सीमाथि स्वयम् ढुंगाना पनि इच्छुक देखिएकोले निर्णय प्रक्रिया झनै जटिल बनेको छ। यही घेराबन्दी तोड्न कांग्रेस नेतृत्व आन्तरिक दबाब निर्माणको रणनीतिमा उत्रिएको देखिन्छ।