काठमाडौं । राजसंस्थाको बहस पुनः तात्न थालेको छ। पछिल्ला दिनहरूमा एकपछि अर्को गर्दै राजसंस्था समर्थक संगठनहरू सक्रिय भइरहेका छन् भने भोलि सुकेधारामा हुने एउटा कार्यक्रमले यस अभियानलाई संस्थागत ‘रिहर्सल’को स्वरूप दिने संकेत देखिएको छ।
नबराज सुबेदिको नेतृत्वमा गठित जनआन्दोलन समितिको आयोजनामा भोलि (२५ वैशाख) नबदुर्गा पार्टी प्यालेस, सुकेधारामा एक घोषणा सभा हुँदैछ, जहाँ देशका विभिन्न राजावादी, हिन्दू राष्ट्र समर्थक, र परम्परागत शक्ति केन्द्रका नेताहरू एउटै मञ्चमा देखिने भएका छन्।
कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, राष्ट्रिय शक्ति नेपालका नेता केशरबहादुर बिष्ट, नेपाली कांग्रेस (बीपी)का सुशिलमान शेरचन, शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलगायतका अगुवा नेताहरूले आ–आफ्नो धारणा राख्ने तयारी गरिएको छ।
राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले ‘भ्रष्ट व्यवस्था र असफल शासन प्रणालीविरुद्ध नयाँ आन्दोलनको आवश्यकता महसुस भएकाले’ उक्त कार्यक्रममा अध्यक्ष थापाको सहभागिता रहने बताए। उनका अनुसार, आन्दोलन शान्तिपूर्ण हुने छ र यसले ‘नयाँ विकल्पको सुरुवात’ गर्ने दाबी गरिएको छ।