+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

राजतन्त्रको पुनरागमनको खेल खतरनाक संकेत हो मजदुर वर्ग जागरुक रहनुपर्छ– प्रधानमन्त्री ओली

जनवाच
५ घण्टा अगाडी

काठमाडौं, वैशाख १८ – प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुश राजतन्त्र फर्काउने सपना देख्नेहरूप्रति कडा चेतावनी दिएका छन्। राजधानीमा आयोजित श्रमिक दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजक र असहिष्णु प्रवृत्तिविरुद्ध मजदुर वर्ग एकताबद्ध हुनुपर्नेमा जोड दिए।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आयोजना गरेको १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको कार्यक्रममा बोल्दै ओलीले हालै चैत १५ गतेको तीनकुने घटनालाई निरङ्कुश सोचको उदाहरणको रूपमा उल्लेख गरे। “राजतन्त्रको सपना देख्नेहरूले प्रहरीमाथि गाडी कुदाएर हत्या गर्न खोजेका छन्, कलाकारहरूको स्वतन्त्रता कुन्ठित गर्न धम्की दिन्छन्,” उनले भने, “यी प्रवृत्तिहरू सभ्यताको विरोध हुन्। हामीले त्यसको घोर विरोध गर्नुपर्छ।”

प्रधानमन्त्री ओलीले लोकतन्त्र रगतपसिनाबाट प्राप्त गरिएको प्रणाली भएको उल्लेख गर्दै यस्तो प्रणालीको रक्षाका लागि श्रमिक वर्गको भूमिका सधैं निर्णायक हुने बताए। “हाम्रो झण्डा रातो छ किनभने त्यहाँ श्रमिकहरूको बलिदान मिसिएको छ,” उनले भने, “यस झण्डालाई हामीले कहिल्यै झुक्न दिँदैनौँ।”

उनले भने, “हामी ‘समृद्ध नेपाल, सुखी नेपाली’को मार्गमा अघि बढिरहेका छौं। सामाजिक न्याय, श्रमिक अधिकार र समान अवसरको सुनिश्चितता हाम्रो एजेन्डा हो।”

कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतका नेताहरूले पनि श्रमिक वर्गका समस्याबारे धारणा राखे।

ओलीको चेतावनीले समसामयिक राजनीतिक बहसलाई झनै चर्काएको छ। राजनीतिक स्थायित्वको आधार लोकतान्त्रिक मूल्य हो या परम्परागत सत्ता कल्पना? – बहस पुनः उत्कर्षमा पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ