पोखरा । स्थानीय तहका जनप्रतिनिधिहरूको व्यवहार फेरि एकपटक विवादको घेरामा आएको छ। पोखरा महानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष देवकृष्ण पराजुली मंगलबार पक्राउ परेका छन्, जसले जनप्रतिनिधिको भूमिकामाथि पुनः प्रश्न उठाएको छ।
वडा क्षेत्रकै व्यवसायी लेखनाथ सुवेदीले ‘हातपात तथा अभद्र व्यवहार’ गरेको आरोपमा किटानी जाहेरी दिएपछि पराजुलीलाई ढिकीडाँडाबाट प्रहरीले पक्राउ गरेको हो।
यसैबीच, वडाध्यक्ष पराजुलीले महानगरका कर्मचारी ईश्वरीप्रसाद पोख्रेलमाथि पनि कुटपिट गरेको आरोप लागेको छ। घटना पश्चात आक्रोशित बनेका महानगरका कर्मचारीहरूले बुधबार सेवा प्रवाह नै बन्द गरेका छन्, जसले आम नागरिकलाई प्रत्यक्ष असर पुर्याएको छ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले पराजुलीविरुद्ध ‘सार्वजनिक हित, स्वास्थ्य, सुविधा तथा नैतिकताविरुद्धको कसुर’ अन्तर्गत अनुसन्धान अघि बढाइएको जनाएको छ।