काठमाडौं, वैशाख १५ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाली आकाशलाई सुरक्षित, चलायमान र व्यवस्थित बनाउन सरकार गम्भीर भएर लागिपरेको बताएका छन्।
सोमबार प्रतिनिधिसभामा प्रस्तुत ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ सम्बन्धी छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै मन्त्री पाण्डेले उड्डयन क्षेत्रमा आमूल सुधार ल्याउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे।
“नेपालको आकाश र विमानस्थलहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित र प्रभावकारी बनाउने हाम्रो लक्ष्य हो,” मन्त्री पाण्डेले भने, “पर्यटन क्षेत्रलाई समेत पुनरुत्थान गर्ने हाम्रो साझा दायित्व हो।”
सांसदहरूको चासो र सुझावले आफूलाई थप उत्साहित बनाएको बताउँदै मन्त्री पाण्डेले विधेयकमा आवश्यक संशोधनका लागि ढोका खुला रहेको र तीन दिनभित्र संशोधन प्रस्तावहरू आउने आशा व्यक्त गरे।
उहाँले नियामक र सेवा प्रदायक निकायलाई छुट्याउँदा उड्डयन क्षेत्र थप पारदर्शी र गतिशील बन्ने विश्वास व्यक्त गरे। साथै, प्राविधिक र प्रशासनिक कर्मचारीहरूको सेवा सुविधा सुरक्षित रहने प्रतिवद्धता पनि दोहोर्याए।
सौर्य एयरलाइन्स दुर्घटनाको प्रारम्भिक प्रतिवेदन सार्वजनिक भइसकेको जानकारी दिँदै मन्त्री पाण्डेले दोषीमाथि निष्पक्ष छानबिनपछि कारबाही प्रक्रिया अघि बढाइने बताए। भ्रष्टाचार नियन्त्रणमा सरकारले कुनै सम्झौता नगर्ने समेत उनले प्रष्ट पारे।