काठमाडौं – आर्थिक सुधार र समृद्धिका लागि नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा नीतिगत स्थायित्वलाई पहिलो प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई आग्रह गरेको छ। सोमबार काठमाडौंमा नेपाली कांग्रेस पार्टीको उद्योग तथा व्यापार विभागद्वारा आयोजित बजेट अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको अर्थतन्त्रलाई दीर्घकालीन दिशामा अघि बढाउनका लागि सबै दलहरूले अबको दशकभर नीतिगत स्थायित्वमा सहमति जनाउनुपर्नेमा जोड दिए। “नीति र संस्था स्थिर नभएसम्म आर्थिक समृद्धि सम्भव छैन,” अध्यक्ष ढकालले भने, “नेपाली कांग्रेसजस्तो ठूलो दलले पहल गरेर सबै दलबीच कम्तीमा १० वर्ष नीति परिवर्तन नगर्ने सहमति गराउनुपर्छ।” महासंघले पूँजीगत खर्चमा सुधार गर्न, बजेटको आकार वास्तविक खर्चमा आधारित गरी १५ प्रतिशतभन्दा बढी नबढाउन, र पूँजीगत खर्चको प्रभावकारिता बढाउन सुझाव दिएको छ। ढकालले विगत दुई दशकदेखि पुँजीगत खर्च न्यून भएको र त्यसले अपेक्षित आर्थिक विकास रोकिएको उल्लेख गर्दै, पुँजीगत खर्चलाई बढाउन बजेट संरचनामै सुधार गर्नुपर्ने बताए। साथै, महासंघले सार्वजनिक सेवा प्रवाहमा प्रविधिको व्यापक प्रयोग, नागरिक एपमार्फत व्यवसाय दर्ता र नविकरण प्रक्रिया सहज बनाउने तथा व्यवसाय नविकरणलाई स्वतः राजस्व भुक्तानीसँग जोड्ने सुझाव दिएको छ। नेपालको कुल अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशत योगदान रहेको तथ्य प्रस्तुत गर्दै ढकालले निजी क्षेत्रप्रति सम्मान र उद्यमशील वातावरण सृजना गर्नुपर्ने मागसमेत राखे।“रोजगारी सिर्जना र आर्थिक समृद्धिका लागि कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन जरुरी छ,” उनले थपे। कार्यक्रममा महासंघले अनधिकृत व्यापार नियन्त्रणका लागि छिमेकी मुलुकहरूसँग समन्वय गर्दै संयुक्त गस्तीको प्रबन्ध गर्न र गैरकर राजस्व व्यवस्थापनका लागि छुट्टै छाता ऐन बनाउन पनि सुझाव दिएको छ।