१५ वैशाख, काठमाडौं – सहकारी संस्थाको अपचलन पीडितहरूले सरकारले बेवास्ता गरेको भन्दै सोमबार काठमाडौंको माइतीघर मण्डलामा अर्धनग्न प्रदर्शन गर्दै आक्रोश व्यक्त गरेका छन्।
‘आन्दोलन रहर होइन, बाध्यता हो’, ‘हाम्रो धैर्यलाई कमजोरी नठान’ जस्ता तीखो सन्देशसहित प्लेकार्ड बोकेर उनीहरूले सरकार र सम्बन्धित निकायप्रति गम्भीर चेतावनी दिएका छन्।
महिनौँदेखि सडकमा संघर्षरत पीडितहरूले सहकारी सञ्चालकहरूको सम्पत्ति जफत गरेर भए पनि आफ्नो पसिनाको बचत फिर्ता गराउन जोडदार माग गरिरहेका छन्। तर अहिलेसम्म सरकारबाट कुनै ठोस पहल नआएको उनीहरूको गुनासो छ।
सहकारी संस्थाको अनियमितता र भ्रष्टाचारका कारण ठगिएका पीडितहरूले धैर्यको सीमा नाघ्दै अब थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन्।