काठमाडौं जेठ १४ –प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ, तर राजनीतिक असहमतिले संसदको वातावरण अझै असहज छ। गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै प्रतिपक्षले संसद अवरुद्ध गरिरहँदा महत्वपूर्ण कार्यसूचीहरू प्रभावित भएका छन्।
विशेषतः भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता भएको आरोप लगाउँदै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित रास्वपा, राप्रपा र माओवादी केन्द्रले एक स्वरमा छानबिनको माग गरेका छन्।
हिजो सुरु भएको संसद बैठकमा प्रतिपक्षी दलहरूको विरोधपछि ३० मिनेटका लागि स्थगित गरिएको थियो। त्यसपछि दिउँसो २:३० बजे पुनः बस्ने भनिएको बैठकसमेत हुन नसकेपछि अन्ततः सूचना टाँसी आज बिहानसम्मका लागि सारिएको हो।
संघीय संसदको कार्यतालिका अनुसार हिजो उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक सर्वेक्षण २०८२/८३ पेश गर्नु पर्ने थियो। तर संसद अवरोधका कारण यो कार्यसूची स्थगित भयो। आजको बैठकमा सर्वेक्षण प्रस्तुत हुने जनाइएको छ।