काठमाडौं, जेठ १४ – शेयरबजारमा ट्रेड टावर लिमिटेडले ल्याएको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को चर्चा चुलिएको छ। तर, यसपटक मुद्दा केवल सेयर खरिद-बिक्रीको लाभमा सीमित छैन—कम्पनीले आफ्नो दीर्घकालीन र शहरी विकासमा केन्द्रित रणनीति सार्वजनिक गरिसकेको छ। विदेशमा रहेका नेपालीहरूलाई पहिलो चरणमा लक्षित गरेपछि अब कम्पनीले सर्वसाधारणका लागि सेयर खुला गरेको छ। तर यो आईपीओमा लगानीकर्ताले केवल लाभांशको आशा होइन, ‘शहर बनाउने’ यात्रामा सहभागी हुने अवसर पाउने छन्। ट्रेड टावरको प्रमुख योजनाहरू—थापाथलीको कर्पोरेट कम्प्लेक्स, भैंसेपाटीको अपार्टमेन्ट, गौशालाको होटल क्रिष्टल पशुपति—लगायतका परियोजनाहरूले यो कम्पनीलाई एक अग्रगामी शहरी विकास कम्पनीको रूपमा स्थापित गरिरहेको छ। कम्पनीको वित्तीय अवस्थाले लगानीकर्ताका लागि दीर्घकालीन सम्भावनाहरू देखाउँछ। चालु आवको पुस मसान्तसम्म ५ करोड ६० लाख नाफा कमाएको कम्पनीले आगामी तीन आर्थिक वर्षमा क्रमशः ६ करोड ६१ लाख, १० करोड १५ लाख र १२ करोड ५५ लाख नाफा आर्जन गर्ने लक्ष्य लिएको छ। त्यस्तै, प्रतिसेयर आम्दानी (EPS) पनि निरन्तर उकालो लाग्ने प्रक्षेपण गरिएको छ—हालको १.८८ रुपैयाँबाट बढ्दै तीन वर्षपछि ५.९५ रुपैयाँ पुग्ने अनुमान छ। ट्रेड टावरको भविष्य दृष्टिकोण राजधानी सीमित छैन। कम्पनीले ७ वटै प्रदेशमा कम्तीमा एउटा पर्यटन परियोजना विकास गर्ने लक्ष्य लिएको छ। नगरकोट, जर्सिङ्गपौवा, इटहरी र जनकपुरमा क्रमशः इको भिलेज, फाइभ स्टार होटल र सभा हलको विकास योजनाले कम्पनीको बहुआयामिक सोच झल्काउँछ। कम्पनीका अध्यक्ष शिवहरि दंगालसँग ३०.८८ प्रतिशत शेयर स्वामित्व छ भने सञ्चालकहरू सुष्मा लम्साल, सौगात दाहाल, सतिश न्यौपानेलगायतले समेत उल्लेख्य शेयर राखेका छन्। यसले नेतृत्व स्वयं कम्पनीमा गहिरो विश्वास राखेको देखाउँछ। कम्पनी केवल सेयर बेच्ने माध्यम होइन, सह-लगानीकर्ता तयार पार्ने दृष्टिकोणमा अगाडि बढेको देखिन्छ। शेयर खरिदकर्ताले कम्पनीको सम्पत्ति मूल्य वृद्धिमा मात्रै हैन, सहरको स्वरूप परिवर्तन गर्ने योजनाको पनि हिस्सा बन्नेछन्। ट्रेड टावर लिमिटेडको आईपीओले लगानीकर्तालाई शहरीकरण, पर्यटन प्रवर्द्धन र सम्पत्ति विकासमा प्रत्यक्ष सहभागिता जनाउने प्लेटफर्म प्रदान गर्दैछ। शेयर खरिद गर्नेहरुले यो कम्पनीको लाभांशमात्र होइन, नेपालको शहरहरूको आधुनिक रूपान्तरणमा पनि सहभागी हुने सम्भावना बोकेका छन्।