१५ जेठ, काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा गणतन्त्रको औचित्य व्यवस्थाको परिवर्तनमा मात्र नभई व्यवहारको रूपान्तरणमा रहेको स्पष्ट पारेका छन्। राजनीतिक प्रणाली परिवर्तन गरेर मात्रै नागरिकको जीवनमा परिवर्तन आउँदैन भन्ने सन्देश दिँदै उनले शासकीय चरित्र, राजनीतिक आचरण र संस्थागत कार्यशैलीमा गुणात्मक सुधार नगरेसम्म गणतन्त्रको सपना अधुरै रहने चेतावनी दिएका छन्। राष्ट्रपतिले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु बाह्य हैन, आन्तरिक ढिलासुस्ती, अनियमितता र बेथिति भएको उल्लेख गर्दै ती बेथितिहरूले आमनागरिकको विश्वास र आशा मारेको बताएका छन्।“गणतन्त्रलाई नागरिकसँग जोड्नका लागि व्यवस्थाभन्दा बढ्ता जरूरी आचरण हो,” राष्ट्रपति पौडेलले सन्देशमा भने, “जबसम्म आमनागरिकको जीवनमा आशाको उज्यालो फैलिँदैन, त्यतिबेलासम्म हाम्रो गणतन्त्र अपूर्ण नै रहन्छ।” राष्ट्रपतिले गणतन्त्रलाई केवल सत्ता प्राप्तिको साधन नठानी, मूल्ययुक्त राजनीतिक, सामाजिक र आर्थिक संस्कारको अभ्यासको रूपमा बुझ्न आग्रह गरे।उनले सन्देशमा उल्लेख गरे, “गणतन्त्र केवल एउटा शासन व्यवस्था हैन, यो त आचरणमा झल्किने जीवनपद्धति हो। यसको आत्मा जिम्मेवार नेतृत्व, न्यायपूर्ण शासन र नैतिक जीवनशैलीमा बस्छ।” सन्देशमा राष्ट्रपतिले आर्थिक विकास विना सामाजिक न्याय र समृद्धिको सपना अधुरो हुने प्रस्ट पारे।उनका अनुसार कृषि, पर्यटन, ऊर्जालगायतका क्षेत्रलाई बलियो बनाएर मात्रै गणतन्त्रलाई जीवनसँग जोड्न सकिन्छ।“हामीले हाम्रा स्रोतको अधिकतम प्रयोग गर्न सिक्नुपर्छ, अनि मात्रै रोजगारी, न्यायोचित वितरण र सामाजिक न्याय सम्भव हुन्छ,” उनले भने। राष्ट्रपतिले गणतन्त्र दिवसलाई केवल उत्सवको रूपमा मनाएर नहुने भन्दै यस दिनले सबै नागरिक र नेतृत्व तहलाई जिम्मेवारीबोध गराउने अवसर भएको बताए।“गणतन्त्रको गहिरो अभ्यासमा नलागे हामीले इतिहासको उत्तरदायित्व पूरा गर्न सक्दैनौं,” उनले स्पष्ट गरे।