काठमाडौं – अब विदेशी अनलाइन सेवा लिन डलर कार्डमा रकम हाल्न बैंक धाउनुपर्ने झन्झट अन्त्य भएको छ। ग्लोबल आइएमई बैंकले आफ्नो मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत डलर कार्डमा रियल टाइम लोड गर्ने सुविधा सुरु गर्दै डिजिटल बैंकिङको क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ। डिजिटल प्रविधिको प्रयोगमार्फत ग्राहक सेवामा नयाँ प्रयोग गर्दै बैंकले अन्तर्राष्ट्रिय अनलाइन किनमेल, सब्स्क्रिप्सन तथा डिजिटल सेवाहरूको भुक्तानी सहज बनाउन ‘ई-कम डलर कार्ड’ सेवा थप गरेको हो। यस सुविधाबाट अब सेवाग्राहीले आफ्नो मोबाइलमै बसेर तुरुन्तै अमेरिकी डलर कार्डमा लोड गर्न सक्नेछन्। पहिला डलर कार्ड लोड गर्न सेवाग्राही बैंक शाखा पुग्न बाध्य हुन्थे। तर अब मोबाइल एपमै सजिलै रकम टप-अप गर्न सकिने सुविधा आएसँगै सेवाग्राहीले समय, ऊर्जा र लागतको बचत गर्न सक्नेछन्। यो सेवा विशेषगरी डिजिटल सेवा र विश्वव्यापी अनलाइन बजारमा क्रियाशील युवा पुस्ताका लागि उपयोगी बन्ने देखिन्छ। ‘ग्लोबल स्मार्ट प्लस’ एपमार्फत ग्राहकले भर्चुअल ई–कम डलर कार्डका लागि सहजै आवेदन दिन सक्ने छन्। कार्ड जारी गर्दा ५०० रुपैयाँ शुल्क लाग्नेछ भने वार्षिक नवीकरण शुल्क ३०० रुपैयाँ तोकिएको छ। तर मोबाइल बैंकिङ प्रयोग गरी लोड गर्दा भने कुनै अतिरिक्त शुल्क लाग्ने छैन। यो कार्डबाट वार्षिक ५०० अमेरिकी डलरसम्मको कारोबार गर्न सकिनेछ। यसले अन्तर्राष्ट्रिय सब्स्क्रिप्सन सेवा (जस्तै Netflix, Amazon, Adobe आदि), अनलाइन किनमेल तथा अन्य डिजिटल कारोबार गर्न सकिने बाटो खुला बनाएको छ। ‘ग्लोबल स्मार्ट प्लस’ एपबाट खाताको व्यवस्थापन, रकम ट्रान्सफर, बिल भुक्तानी, क्यूआर पेमेन्ट, वालेट लोड लगायतका सेवा पनि सहज रूपमा लिन सकिन्छ। देशका ७७ वटै जिल्लामा उपस्थिति बनाइसकेको बैंकले ३५४ शाखा, ३८५ एटिएम र १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत सेवा दिँदै आएको छ। ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड २०२४’ र युरो मनीको ‘अवार्ड फर एक्सलेन्स २०२४’ प्राप्त बैंकले अमेरिका, युके, अष्ट्रेलिया, जापान लगायत मुलुकबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।