काठमाडौं, २ जेठ — लक्ष्मी सनराइज बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच ‘एनपीएस–एनसीएस तथा नेपालपे कार्ड’ को प्रिन्सिपल मेम्बरसिप सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट खुद्रा तथा वित्तीय सेवा प्रमुख दिपेश अमात्य र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। एनपीएस–एनसीएस (National Payment Switch – National Card Switch) को पूर्वाधार तयार भएपछि नेपालकै डोमेस्टिक कार्ड प्रणाली ‘नेपालपे कार्ड’ मार्फत कारोबार गर्न मिल्ने भएको छ। अब लक्ष्मी सनराइज बैंकले नेपालपे कार्ड इस्यु तथा एसेप्ट गर्नसक्ने गरी तयारी थालेको छ। एनपीएस–एनसीएस को कार्यान्वयनले डोमेस्टिक कार्ड कारोबारको लागत घटाउने, डाटा लोकलाइजेसन सुनिश्चित गर्ने र नवीनतम डिजिटल उपकरणको प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। नेपालपे कार्ड पूर्ण रूपमा नेपाली पूर्वाधारमा आधारित भएकाले अन्तर्राष्ट्रिय कार्ड प्रणालीहरूमा हुने खर्चको तुलनामा सस्तो, सुरक्षित र भरपर्दो विकल्प हुने अनुमान गरिएको छ। एनसीएचएल हाल ५४ भन्दा बढी बैंक तथा वित्तीय संस्था, अधिकांश पीएसओ/पीएसपी तथा १ सयभन्दा बढी गैरबैंकिङ सदस्यहरूलाई भुक्तानी प्रणालीमार्फत सेवा दिइरहेको छ। देशभर २५४ शाखा, २७ विस्तारित काउन्टर र ३२९ एटीएम टर्मिनलमार्फत सेवा दिइरहेको लक्ष्मी सनराइज बैंकले डिजिटल इकोसिस्टममा आफ्नो उपस्थिति थप मजबुत बनाउने लक्ष्य लिएको छ।