काठमाडौं, २८ वैशाख — चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले राम्रो नाफा कमाए पनि त्यसले प्रतिशेयर आम्दानीमा भने सकारात्मक प्रभाव पारेको छैन। कम्पनीले ३३ करोड ७६ लाख रूपियाँ खुद नाफा आर्जन गरे पनि प्रतिशेयर आम्दानी (EPS) घटेर ८.९८ रूपियाँमा सीमित भएको छ।
गत आर्थिक वर्षको सोही अवधिसँग तुलना गर्दा नाफा १०.७७ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष कम्पनीले ३० करोड ४८ लाख रूपियाँ नाफा कमाएको थियो।
सानिमा रिलायन्सको ब्याज आम्दानी ४ अर्ब ६५ करोड रूपियाँ नाघेको छ भने कुल आम्दानी ५ अर्ब २२ करोडबाट बढेर ६ अर्ब १२ करोड रूपियाँ पुगेको छ। यस्तै, जीवन बीमा कोषमा ४४ प्रतिशतको वृद्धि हुँदै १७ अर्ब ८१ करोड रूपियाँ पुगेको छ, जसले कम्पनीको दीर्घकालीन दायित्व व्यवस्थापनमा सशक्त स्थिति देखाउँछ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब १ करोड रूपियाँमा स्थिर छ भने प्रतिशेयर नेटवर्थ भने ११०.६० रूपियाँ कायम छ, जुन बजारमा लगानीकर्ताको भरोसा कायम राख्न बलियो संकेत हो।
नाफाको आँकडाले उत्साह जगाए पनि EPS घट्नु भने लगानीकर्ताका लागि सावधानी अपनाउनुपर्ने संकेत हो। विश्लेषकहरूका अनुसार पुँजी विस्तारले EPS मा असर पारेको देखिए पनि कम्पनीको दीर्घकालीन वित्तीय आधार बलियो देखिएको छ।