काठमाडौं । वामपन्थी राजनीतिका दृढ एवं भद्र व्यक्तित्वका रूपमा परिचित पूर्वमन्त्री प्रदीप नेपालको अन्त्येष्टि पारिवारिक सादगीका साथ पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा आजै गरिने भएको छ।
मंगलबार दिउँसो नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएका नेता नेपालको पार्थिव शरीर अहिले आर्यघाटतर्फ लगिएको छ। पारिवारिक आग्रह अनुसार कुनै औपचारिक श्रद्धाञ्जली कार्यक्रम नहुने स्पष्ट गरिएको छ।
नेकपा एमालेका वरिष्ठ नेता समेत रहेका नेपालको निधनप्रति पार्टी नेतृत्व, कार्यकर्ता तथा शुभेच्छुक शोकमा छन्। तर, नेता नेपालको पार्थिव शरीर पार्टी कार्यालयमा नराखिने निर्णय स्वयं परिवारको चाहनाले भएको एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले जानकारी दिए।