काठमाडौँ, वैशाख २८ — प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथिको प्रतिनिधिसभाको छलफलमा व्यापक जवाफ दिँदै सरकारको योजनाको आत्मा ‘मानवमुखी समाजवाद’ भएको प्रष्ट पारेका छन्। उनले मुलुकको पूर्वाधार विकासदेखि कृषिको व्यावसायीकरण, शिक्षाको सुधार र सार्वजनिक सेवा प्रणालीको पुनःसंरचनासम्मका विषयमा सरकारको नीति ‘नयाँ दृष्टिकोणबाट’ अघि बढ्ने प्रतिबद्धता दोहोर्याए। “हामी पुँजीका लागि होइन, नागरिकका लागि शासन गर्छौं,” प्रधानमन्त्री ओलीले भने, “आसेपासे पुँजीवादसँग मेरो कुनै चिनजान छैन। हामी मानववाद र समाजवादतर्फ उन्मुख छौं।” प्रधानमन्त्रीले विशेष गरी पूर्वाधार विकासका परियोजनाहरूको पुनःप्राथमिकीकरण गरिएको जनाउँदै, “थालिएका योजना रोकिने छैनन्, तर खर्चको परिणाम सुनिश्चित गरिनेछ,” भन्दै ‘वर्क इन प्रोग्रेस संस्कृति’ अन्त्य गर्न ढाँचा र कार्यपद्धति बदल्ने सरकारको नीति नयाँ भएको स्पष्ट पारे। प्रधानमन्त्रीले शिक्षा क्षेत्रको रूपान्तरणमा राष्ट्रिय सुधार मार्गचित्र तयार गरिने र शिक्षालाई “सर्वसुलभ, गुणस्तरीय र जीवनोपयोगी” बनाइने योजना सुनाए। यसैगरी, सबै सार्वजनिक अस्पताललाई एकीकृत अनलाइन सेवा प्रणालीमा जोडिने र स्वास्थ्य बीमालाई एकीकृत प्रणालीमा रूपान्तरण गरिने नीति लिइएको जानकारी गराए। कृषिमा नवाचार ल्याउँदै, ओलीले फोहर व्यवस्थापनबाट मल उत्पादन गर्ने नयाँ अवधारणा प्रस्तुत गर्दै मुलुकमै मल कारखाना खोलिने जानकारी पनि दिए। उनले भनाइ थपे, “हामी नयाँ ढङ्गको सोच ल्याउँदैछौं—जसमा फोहर पनि स्रोत बन्न सक्छ।” प्रधानमन्त्रीले संघीय निजामती सेवा, प्रहरी, वैकल्पिक वित्त, नागरिक उड्डयन लगायतका विधेयकहरू छिटो पारित गर्नुपर्नेमा संसदको ध्यानाकर्षण गराउँदै कार्यान्वयनमा ढिलाइ हुनु हुँदैन भन्ने सन्देश दिए।