काठमाडौं — भारत–पाकिस्तान सीमामा पुनः एकपटक तनावको ज्वाला भड्किएको छ । कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर पाकिस्तानको भूमिमा हवाई कारबाही गरेपछि दुवै देशबीचको सम्बन्ध चिसिँदै गएको छ ।
भारतको हवाई आक्रमणपछिको जवाफी कारबाहीमा भारतीय सेनाका लान्स नायक दिनेश कुमारले आफ्नो ज्यान गुमाएका छन् । ५ फील्ड रेजिमेन्टका यो बहादुर सैनिकले मे ७ मा पाकिस्तानी सेनाको गोलाबारीको क्रममा प्राण आहुति दिएका हुन् ।
भारतको ह्वाइट नाइट कोर युनिटले एक्स (पूर्व ट्विटर) मा लेखेको छ, “लान्स नायक दिनेश कुमारले राष्ट्रका लागि जीवन समर्पण गरे,” भनेर उनको बलिदानलाई सम्मान गरेको छ ।
भारतले पाकिस्तान नियन्त्रित कश्मीरका ५ स्थान र पाकिस्तानकै भूमिमा ४ स्थान गरी कुल ९ स्थानमा एकैसाथ हवाई कारबाही गरेको छ । पाकिस्तानले उक्त आक्रमणमा ३१ जनाको मृत्यु र ५७ जनाको घाइते भएको पुष्टि गरेको छ ।
सबैभन्दा चर्चित कारबाही पाकिस्तानको बहावलपुर क्षेत्रमा भएको हो, जहाँ जैश-ए-मोहम्मदका कमाण्डर मसुद अजहरका परिवारका १० जना सदस्य मारिएको पुष्टि भएको छ । यद्यपि, यस घटनाले नयाँ तहमा द्वन्द्वलाई धकेलेको देखिन्छ ।
आक्रमण र जवाफी कारबाहीको चपेटामा परेका सीमावर्ती बासिन्दा आज भयको छायाँमा बाँचेका छन् । गोलीबारी तीव्र बनेपछि सयौं नागरिक भूमिगत बंकर वा सुरक्षित स्थानतर्फ भागेका छन् । घर, मन्दिर, मस्जिद, गाडी र अन्य संरचनाहरू ध्वस्त भएका छन् ।
लेखकको बारेमा

प्रतिक्रिया