काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीहरू (एनआरएन) लाई केवल देशको आलोचना गरेर हैन, ठूला पूर्वाधारमा लगानी गरेर नेपाललाई समृद्ध बनाउने यात्रामा सहभागी हुन आग्रह गरेका छन्। ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ अन्तर्गत आयोजित ‘पोलिसिज एण्ड प्लेटफर्म: डायस्पोरा इन्भेष्टमेन्टको लागि अनुकूल वातावरण निर्माण’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै ढकालले विश्वभरि फैलिएको नेपाली डायस्पोरालाई केवल आलोचकको रूपमा होइन, देश विकासको रणनीतिक साझेदारको रूपमा अगाडि आउन आग्रह गरे। “विदेशमा नेपालीले आफ्नो प्रतिभा, पूँजी र प्रविधि सिद्ध गरिसकेका छन्,” अध्यक्ष ढकालले भने, “अब त्यो सीपलाई नेपालका ठूला परियोजनाहरूमा लगानी गरेर देखाउने बेला आएको छ।” उनले एनआरएनहरूको बीचमा राजनीतिक विभाजन झल्काउने व्यवहारप्रति पनि टिप्पणी गर्दै “एनआरएनए राजनीतिक होइन, विकासप्रतिको साझा दृष्टिकोणमा एकजुट हुन आवश्यक छ” भन्ने सन्देश दिए। कार्यक्रममा उनले गैरआवासीय नेपालीहरूको अनुभव र क्षमतालाई संगठित ढंगले नेपालको विकासमा प्रयोग गर्न सकिने उदाहरणका रूपमा “नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड” को स्थापना र १० अर्ब रुपैयाँको लगानी योजना प्रस्तुत गरे। उनले यस कम्पनीमा एनआरएनहरूलाई पनि सहभागी हुन निमन्त्रणा गरे। एनआरएन इन्भेस्टमेन्ट कम्पनी स्थापना भएपनि स्वामित्व परिवर्तन, उद्देश्यबाट विचलन र कमजोर प्रतिफलका कारण उत्पन्न समस्यातर्फ इशारा गर्दै अध्यक्ष ढकालले भने, “हामीले हिजोका त्रुटिबाट सिकेर अबको यात्रालाई उत्तरदायी र परिणाममुखी बनाउनुपर्छ।” विदेश भ्रमणका क्रममा कतिपय एनआरएनहरूबाट नेपालबारे नकारात्मक टिप्पणी सुन्नु परेको अनुभव सुनाउँदै ढकालले भने, “हामीलाई आलोचना होइन, समाधान दिने नेपाली डायस्पोरा चाहिएको हो।” उनले एनआरएनहरूले अधिकारको मागमात्र हैन, आफ्नो देशप्रतिको कर्तव्य बिर्सन नहुने कुरामा पनि जोड दिए। नेपालसँग रहेको सम्भावना उजागर गर्नको लागि “एकताबद्ध अभियान” आवश्यक भएको भन्दै उनले सबैलाई नेपालप्रति दायित्व बोधसहित सहकार्यको आह्वान गरे।