+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

एक च्यातिएको चेकले खोल्यो बागबजारको गेस्टहाउसमा युवती हत्या प्रकरणको रहस्य

जनवाच
१३ घण्टा अगाडी

काठमाडौं, १ जेठ —सामान्य होटलको एउटा बन्द कोठा, एक युवतीको सडेको शव, र अपराधीको कुनै सुराक छैन — प्रहरीले सुरुमा यही अस्पष्टताबाट अनुसन्धान थाल्यो। तर यही अनिश्चितता च्यातिएको एउटा चेक र त्यसमा लेखिएको एउटा मोबाइल नम्बरले क्रमशः भयानक सत्यतर्फ मोडिन थाल्यो।

२०७८ चैत २९ मा काठमाडौं बागबजारस्थित सहारा गेस्टहाउसको कोठा नम्बर ३०१ मा गन्ध आउन थालेपछि प्रहरीलाई खबर गरियो। कोठा खोल्दा अर्धनग्न अवस्थामा भेटिएकी युवतीको शरीर सडिसकेको थियो, अवस्था हेर्दा कम्तिमा १०–१२ दिन अघिको घटना देखिन्थ्यो। शवको प्रकृति र परिस्थिति हेर्दा हत्या भएको ठम्याइयो।

शवको सनाखत नहुनु, गेस्टहाउसमा बसेको नाम नखुलेको र सीसीटीभी फुटेजले समेत केही नदेखाउँदा प्रहरी अनुसन्धान अँध्यारो सुरुङजस्तै बनेको थियो। तर, शवको तस्बिर प्रहरी सर्कुलरमार्फत सार्वजनिक गरिएपछि नुवाकोटका नवीन तामाङले हराएकी बहिनी बिमला तामाङ भएको सनाखत गरे।

मृतकको पहिचान भएपछि अनुसन्धानको गति बढ्यो। घटनास्थलमा भेटिएको एउटा च्यातिएको चेक टुक्रा अनुसन्धानको टर्निङ पोइन्ट बन्यो। रामचन्द्र र सुशीला पन्तको नाममा रहेको चेकको पछाडि भेटिएको मोबाइल नम्बरले अनुसन्धानलाई सुशीलासम्म पु-र्‍यायो। त्यसपछि खुल्यो—रामचन्द्र केही दिनदेखि सम्पर्कविहीन थिए।

पछिल्ला कडिहरू एकपछि अर्को खुल्दै गए। रामचन्द्र पूर्वभारतीय सैनिक थिए, बिमलासँग विवाहजस्तैको सम्बन्ध थियो, अघिल्लो वर्ष दुवैजनाबीच खटपट भएको र प्रहरी समक्ष मिलापत्र गराइएको पनि खुल्यो। अनुसन्धानकर्ता झन् ढुक्क भए—हत्या रामचन्द्रले नै गरेका हुन्।

हत्या भएपछि भारत फरार भएका रामचन्द्र नेपाल फर्किने तयारीमा थिए, तर प्रहरीको नजरबाट टाढा रहन सकेनन्। भारतमै ट्र्याक गरिसकेपछि, ३० वैशाखमा उनी नागढुंगाबाट पक्राउ परे।

पक्राउपछि उनले बिमलासँग विवाद भएको, बिमलाले आफूमाथि ढुंगाले आक्रमण गर्न खोजेकी थिइन् भन्ने दाबी गर्दै, आफूले त्यसै ढुंगा प्रयोग गरेर हत्या गरेको बयान दिएका छन्। त्यसपछि शवलाई सिरकले छोपेर नयाँ तालाचाबी लगाएर गेस्टहाउस छोडेका थिए।

६० वर्षीय रामचन्द्र पन्त अहिले प्रहरी हिरासतमा छन्, र कर्तव्य ज्यानअन्तर्गत मुद्दा चलाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ