काठमाडौं। पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको टिकटमा समावेश हुँदै आएको विमानस्थल सेवा शुल्क खारेज भएको छ । सरकारले यी दुई विमानस्थलको व्यवसाय वृद्धि गर्ने उद्देश्यसहित एयरलाइन्स र यात्रुहरुको प्रोत्साहनका लागि यस्तो सहुँलियत दिएको हो ।
अब यी दुई विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानको प्रतिटिकट तीन हजार रुपियाँ सस्तो पर्नेछ । यसअघि सरकारले विमानस्थल सेवा शुल्क भन्दै प्रतिटिकट यात्रुसँग ३ हजार रुपैयाँ लिने गरेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार माघ १० गतेदेखि लागू हुनेगरी २०८३ भदौसम्मै विमानस्थल सेवा शुल्क पूर्णरूपमा छुट दिने निर्णय भएको जानकारी दिए ।
तथापि, यस्तो शुल्क काठमाडौं स्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानमा भने छुट हुने छैन ।