काठमाडौं, जेठ २१ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफ का नेपाल मिसन प्रमुख डा. सरावत जहान बीच आज महासंघको सचिवालय टेकुमा महत्वपूर्ण आर्थिक संवाद सम्पन्न भएको छ। यो भेटवार्तामा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट, मौद्रिक नीति, नेपालको समग्र आर्थिक अवस्था र निजी क्षेत्रसँग सरकारको सहकार्यका विषयमा गम्भीर छलफल गरिएको थियो। भेटको क्रममा अध्यक्ष ढकालले निजी क्षेत्रलाई अर्थतन्त्रको प्रमुख चालक भनेर बजेटले दिएको मान्यतालाई स्वागत गर्दै बजेटमा महासंघका सुझावहरू समेटिएकोमा सन्तुष्टि जनाए। यद्यपि उनले कार्यान्वयनमा इमानदारी र प्रतिबद्धता आवश्यक रहेको स्पष्ट गरे। “६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य महत्त्वाकांक्षी मात्र होइन, सम्भव पनि छ – यदि कार्यान्वयनमा सरकार इमानदार छ भने,” ढकालले बताए। उनले पर्यटन, जलविद्युत् र पूर्वाधार क्षेत्रमा अझ बढी प्राथमिकता दिनुपर्ने माग पनि दोहोर्याए। डा. सरावत जहानले नेपालको बजेट र मौद्रिक नीति सम्बन्धमा निजी क्षेत्रको धारणा, बजेटले लिएको आर्थिक वृद्धिको लक्ष्य र नेपालको समग्र अर्थतन्त्रबारे जानकारी लिइन्। उनले सरकारसँग आइएमएफ को भावी सहकार्यबारे पनि संकेत दिइन्। आइएमएफ प्रमुखले अन्तर्राष्ट्रिय साझेदारी र वित्तीय संस्थाहरूबीचको समन्वय आवश्यक रहेको उल्लेख गर्दै नेपालको आर्थिक रुपान्तरणमा IMF को लगातार सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्। अध्यक्ष ढकालले नेपालको दीर्घकालीन आर्थिक विकासका लागि नीतिगत स्थायित्व, सुशासन र सरकार–निजी क्षेत्र सहकार्यको सुदृढीकरण अपरिहार्य रहेको स्पष्ट पारे। “हामी सरकारसँग नीति निर्माणमा सहकार्य गर्न तयार छौं, तर नीति हरेक वर्ष बदल्ने प्रवृत्ति हट्नुपर्छ,” उनले चेतावनी दिए।