प्रसिद्ध ह्याचब्याक कार निसान माइक्रा अब एक नयाँ युगमा प्रवेश गरेको छ। सन् २०२५ को मोडलसंगै माइक्रा आफ्नो छैठौं पुस्तामा प्रवेश गर्दै पूर्णरूपमा इलेक्ट्रिक भर्सनमा परिवर्तन भएको छ। यो परिवर्तनले माइक्रालाई निसानको आधुनिक इलेक्ट्रिक मोबिलिटी यात्राको एउटा प्रमुख हिस्सा बनाएको छ।
नयाँ माइक्रा EV फ्रेन्च कम्पनी रेनोको Renault 5 E-Tech मा आधारित AmpR Small प्लेटफर्म प्रयोग गरेर बनाइएको हो। यो प्लेटफर्म सहरभित्रको चाप तथा ट्राफिकलाई ध्यानमा राखेर विकास गरिएको हो, जसले गर्दा कारको डिजाइन, परफर्मेन्स र दैनिक प्रयोगको सहजता उल्लेखनीय छ।
निसान माइक्रा EV दुई फरक ब्याट्री विकल्पमा उपलब्ध छः
-
४० kWh ब्याट्री भएको मोडलले १२१ बीएचपी पावर र २२५ एनएम टर्क दिन्छ। यसले ३०८ किलोमिटर (WLTP) सम्मको रेन्ज दिन सक्छ र ८० किलोवाट फास्ट चार्जिङ सपोर्ट गर्छ जसबाट १५ देखि ८०% चार्ज गर्न करिब ३० मिनेट लाग्छ।
-
५२ kWh ब्याट्री भएको टप भेरियन्टले १४८ बीएचपी पावर र २४५ एनएम टर्क उत्पादन गर्छ। यसको WLTP रेन्ज ४०८ किलोमिटर सम्म हुन्छ र यसमा १०० किलोवाट फास्ट चार्जिङ सपोर्ट छ, जसबाट १५–८०% चार्ज गर्न करिब ३० मिनेट नै लाग्छ।
दुवै भेरियन्टमा फ्रन्ट-व्हील ड्राइभ र सिंगल स्पीड ट्रान्समिसन दिइएको छ, जसले सहरभित्र छिटो र सजिलो ड्राइभ अनुभव प्रदान गर्छ।
स्टाइल, परफर्मेन्स, र वातावरणमैत्री प्रविधिको राम्रो सन्तुलन भएको यो नयाँ माइक्रा EV सहरमा दैनिकी यात्राका लागि उत्तिकै उपयोगी देखिन्छ।
सस्तो चार्जिङ लागत, कम मर्मतसम्भार खर्च र शून्य प्रदूषणको कारणले गर्दा २०२५ निसान माइक्रा नेपालको लागि पनि निकै उपयुक्त EV बन्ने सम्भावना देखिन्छ। यसले सहर केन्द्रित ग्राहकहरूको आकर्षण जित्नेमा कुनै शंका छैन।