काठमाडौं, जेठ २२ – ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२५ को अवसरमा विद्युतीय सवारी साधन इभी चार्ज गर्न आफ्नो मुख्य कार्यालय, कमलादीमा चार्जिङ स्टेशन सञ्चालनमा ल्याएको छ।
चार्जिङ स्टेशनको समुद्घाटन बैंकका संचालक कृष्ण प्रसाद शर्मा, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र गाडी चार्ज प्रालिका प्रमुख कार्यकारी अधिकृत प्रेशा श्रेष्ठ द्वारा संयुक्तरूपमा गरियो। गाडी चार्ज प्रालिसँगको सहकार्यमा जडान गरिएको चार्जिङ उपकरण ४० किलोवाट क्षमताको सिसिटू सिंगल गन हो, जुन बैंकमा आउने ग्राहक तथा कर्मचारीहरूले सजिलै प्रयोग गर्न सक्छन्।
बैंकका संचालक शर्माका अनुसार, यो पहल सिर्फ प्रविधि वा सुविधा मात्र नभई वातावरणप्रति बैंकको दायित्वबोधको अभिव्यक्ति हो। उनका अनुसार, इभी प्रवर्द्धन हाम्रो हरित बैंकको यात्राको एउटा प्रारम्भिक पाइलो मात्र हो, यसले ग्राहक सुविधा र वातावरण संरक्षणलाई एकैसाथ जोडेको छ।”
बैंकका नायब प्रमुख कार्यकारी पोखरेलले भने, “ग्लोबल आइएमई बैंक उत्तरदायी बैंकको हैसियतमा, हरित वित्तीय उत्पादन र वातावरण संरक्षणका उपायहरूसहित समाजमा प्रभाव पार्ने लक्ष्यमा अग्रसर छ।” उहाँका अनुसार, बैंकले आफ्नो १८औं वार्षिकोत्सव तथा विश्व वातावरण दिवस का अवसरमा १८ हजार विरुवा रोप्ने अभियान पनि सञ्चालन गरिरहेको छ।
पोखरेलको विश्वास छ कि “इभी चार्जिङजस्ता हरित पूर्वाधार स्थापना अन्य बैंक तथा वित्तीय संस्थाहरूका लागि पनि प्रेरणादायी बन्नेछ।” कार्यक्रममा गाडी चार्ज प्रालिका प्रतिनिधिहरू र बैंकका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
ग्लोबल आइएमई बैंक हालसम्म ३५४ शाखा, ३८५ एटीएम, २०२ शाखा रहित सेवा, ६८ एक्सटेन्सन काउन्टर, ३ वैदेशिक प्रतिनिधि कार्यालय लगायत १,००० भन्दा बढी सेवा केन्द्रहरू मार्फत सेवा दिँदै आएको छ।
बैंकले रेमिट्यान्स सेवा पनि विश्वका थुप्रै देशबाट उपलब्ध गराउँदै आइरहेको छ, जस्तै अमेरिका, बेलायत, कोरिया, खाडी राष्ट्र आदि।
ग्लोबल आइएमई बैंकले हालै ग्लोबल फाइनान्स बेस्ट बैंक अवार्ड २०२४ तथा युरोमनी एक्सिलेन्स अवार्ड २०२४ मा समेत नेपालको उत्कृष्ट बैंकको उपाधि प्राप्त गरेको छ।