१८ जेठ, काठमाडौं — राजसंस्थाको पुनर्स्थापनाको मागसहितको आन्दोलनमा पक्राउ परेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको रिहाइ माग गर्दै राप्रपा नेपालका कार्यकर्ताले आइतबार साँझ राजधानीको सिफल–कालोपुल क्षेत्र भएर राँके जुलुस निकालेका छन्।
जनआन्दोलन समितिको नेतृत्वमा भएको प्रदर्शनमा निषेधित क्षेत्र उल्लंघन गरेको आरोपमा थापालाई प्रहरीले शनिबार लछारपछार गर्दै पक्राउ गरेको थियो। गिरफ्तारीको विरोधस्वरूप कार्यकर्ताहरूले सडकमा उत्रिएर ‘कमल थापालाई रिहा गर, राजसंस्थाको पुनर्स्थापना गर, लगायतका नारासहित मशाल बालेका थिए।
राप्रपा नेपालका अनुसार थापासहित ६ जना राजावादी नेता कार्यकर्ता पक्राउमा परेका थिए, जसमा शिला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली र सरोज तिमिल्सिना रहेका छन्।
पक्राउ परेका नेताहरुलाई काठमाडौं प्रहरी परिसर, भद्रकालीमा राखिएको छ। स्रोतका अनुसार थापालाई आजै बेलुकी रिहा गर्ने तयारी भइरहेको छ।