काठमाडौं । दार्चुला पावरले दार्चुला जिल्लाको मार्मा गाउँपालिका–२ मा निर्माण गरिरहेको २८.३ मेगावाट क्षमताको मध्य–चमेलिया जलविद्युत् आयोजनामा लगानीको टुंगो लागेको छ ।
दार्चुलामा नेपाल बैंकको अगुवाइमा नबिल बैंकले लगानी गर्ने भएका छन् ।
दार्चुला पावरले ५ अर्ब ६६ करोड रुपैयाँ लागतमा निर्माण गरेको आयोजनामा नेपाल बैंक र नबिल बैंकले ७५ प्रतिशत अर्थात् ४ अर्ब २४ करोड ५ लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन् ।
आयोजनामा नेपाल बैंकले २ अर्ब २४ करोड ५ लाख र नबिल बैंकले २ अर्ब रुपैयाँ लगानी गर्ने भएका छन् ।
दार्चुला पावरको २५ प्रतिशत स्वपुँजी छ । दार्चुला पावर अपि पावर कम्पनीको सहायक कम्पनी हो ।
बुधबार राजधानीमा आयोजित काठमाडौंमा वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौतामा हस्ताक्षरमा दार्चुला पावरका अध्यक्ष सञ्जिव न्यौपाने र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेले हस्ताक्षर गरे ।
मार्मा गाउँपालिका–२ लाम्बगडमा बाँधस्थल रहने आयोजनाको साढे सात किलोमिटर तल मार्मा गाउँपालिका–३ नलबगडमा विद्युत्गृह निर्माण हुनेछ । बाँधस्थलबाट ३.३३ डायमिटरको एमएस ९माइल्ड स्टिल० पाइपलाइनद्वारा विद्युत्गृहसम्म पानी पुर्याइनेछ । मध्यचमेलियामा पानीको प्रवाह प्रतिसेकेन्ड २५.१७ घनमिटर हुनेछ । नेटहेड (उचाइ) १२८.४६ मिटर रहनेछ ।
आयोजनाबाट उत्पादित बिजुली नौ किलोमिटर तल बलाच सबस्टेसनमा जोडिनेछ । यस आयोजनाबाट वार्षिक १८५.६२ गिगावाट प्रतिघण्टा विद्युत् उत्पादन हुने दार्चुला पावरका अध्यक्ष सञ्जिव न्यौपानेले बताए ।