विराटनगर, १७ जेठ — मनसुन प्रवेश गरेको भोलिपल्टै पूर्वी नेपालमा आएको अविरल वर्षाले जनजीवन अस्तव्यस्त बनाएको छ। वर्षासँगै आएको बाढीले झापाको विभिन्न स्थानमा निर्माणाधीन सडक संरचना बगाउँदा यातायात ठप्प भएको छ भने केही बस्तीमा बाढी पस्दा दर्जनौं परिवार सुरक्षित स्थानमा सार्नुपरेको छ। झापाको काली खोलामा आएको बाढीले निर्माणाधीन पूर्व–पश्चिम राजमार्ग अन्तर्गतका डाइभर्सन बगाउँदा सडक अवरुद्ध भएको हो। धुलाबारी नजिकको कल्भर्ट डाइभर्सन बगाएपछि यातायात पूर्ण रूपमा रोकिएको थियो, तर अहिले अस्थायी रूपमा माटो भरि एकतर्फी आवागमन सुचारु गरिएको प्रहरीले जनाएको छ। झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन लिम्बुका अनुसार बुट्टावारी–चारआली सडकखण्डमा पनि बाढीले डाइभर्सनमा क्षति पुर्याएको छ। उनका अनुसार “पुल र कल्भर्ट निर्माण गर्न बनाइएका डाइभर्सनहरूमा पानीको निकासको व्यवस्था नमिल्दा बाढीले संरचना भत्काएको हो।” यता माइखोलाको बाढीले झापा गाउँपालिका–२ को बस्तीमा पस्दा २२ परिवार विस्थापित भएका छन्। प्रहरीले तत्कालै उद्धार गरी स्थानीयलाई सुरक्षित स्थानमा सारेको जानकारी दिएको छ। केही घरहरूमा बाढीको पानी पस्दा क्षति भए पनि जनधनको ठोस क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ। त्यसैगरी, बाढीले कोशी लोकमार्गसमेत अवरुद्ध पार्दा पूर्वी पहाडी जिल्लाहरूको आवागमनमा असर परेको छ।