+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मनोरञ्जन

के घर के डेरा २’ चलचित्र आजदेखि देशभर प्रदर्शन

‘के घर के डेरा २’ ले समाजका थिचिएका आवाजहरूलाई उचाल्ने, डेरामा बस्ने वर्गको पीडा र सपना दर्शाउने प्रयास गरेको छ। यो सिनेमा केवल मनोरञ्जन मात्र होइन, वास्तविकताको ऐना पनि हो।

जनवाच
१६ घण्टा अगाडी

काठमाडौं, जेठ २ — नेपाली समाजको यथार्थ चित्रण गर्ने प्रयासस्वरूप निर्देशक दिपेन्द्र के. खनाल निर्देशित सामाजिक सिनेमा ‘के घर के डेराः घर नम्बर २’ आजदेखि देशभर प्रदर्शनमा आएको छ। शहरमा डेरा गरी बस्ने वर्गको संघर्ष, घरबेटी–डेरावालाको जटिल सम्बन्ध, र आम जनताको जीवनगाथा चलचित्रको मूल विषयवस्तु हो।

चलचित्रको कथा सुप्रसिद्ध लेखक बुद्धिसागर द्वारा लेखिएको हो। उनका शब्दहरूले शहरको कुनाकाप्चामा थिचिएका मानिसहरूको वास्तविकतालाई पर्दामा उतार्ने प्रयास गरिएको छ। निर्देशक खनालले यसअघि पनि सामाजिक संवेदनालाई मूर्त रुप दिने चलचित्रहरू पस्किसकेका छन्।

चलचित्रको रिलिज अघिल्लो दिन, बुधबार काठमाडौंको क्यूएफएक्स सिभिल मल, सुन्धारामा विशेष प्रिमियर आयोजना गरिएको थियो। तर यो प्रिमियर सेलिब्रिटी चमक–धमकभन्दा फरक थियो — र्‍यान्डम १८० जना सर्वसाधारणलाई बजार, चोक र मलबाट निम्त्याएर फिल्म देखाइएको थियो।

निर्देशक खनालले भने, “हामी सेलिब्रिटीको होइन, आम दर्शकको साँचो भावना जान्न चाहन्थ्यौं। त्यसैले यो फरक शैली अपनायौं।” प्रिमियरमा सहभागी दर्शकहरूले फिल्मप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।

चलचित्रमा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, आर्यन सिग्देल लगायत अनुभवी कलाकारहरू देख्न पाइन्छ। उनीहरूको अभिनयले कथालाई जीवन्त बनाएको निर्माण पक्षको दाबी छ।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ