२० जेठ काठमाडौं —काठमाडौंको थापाथलीस्थित ट्रेड टावर तथा गौशालास्थित क्रिस्टल होटल सञ्चालन गरिरहेको कम्पनी ट्रेड टावर लिमिटेडको आईपीओमा आम लगानीकर्ताको अत्यधिक चासो देखिएको छ। सोमबार साँझसम्म ७ गुणा बढी आवेदन परेको छ, जबकी आवेदन दिने समय मंगलबार आज सकिँदैछ। सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार साँझसम्म १९ लाख ६१ हजार ३९१ जना लगानीकर्ताले आवेदन दिएका छन्। उनीहरूले २ करोड ३३ लाख ६० हजार कित्ता सेयर माग गरेका छन्, जबकी कम्पनीले जारी गरेको सेयर संख्या ३२ लाख ९६ हजार ५०५ कित्ता मात्रै हो। ट्रेड टावर लिमिटेडले काठमाडौंको थापाथलीमा रहेको नेपाल खाद्य संस्थानको ३० वर्षे लिजमा लिएको जग्गामा भव्य व्यापारिक भवन निर्माण गरेर सञ्चालन गर्दै आएको छ। यो भवनबाट उठ्ने भाडा आम्दानीको मुख्य स्रोत हो, जुन भवन हाल १५ वर्षदेखि सञ्चालनमा छ। त्यस्तै, कम्पनीले गौशालास्थित क्रिस्टल होटल पनि निर्माण गरी सञ्चालन गर्दै आएको छ, जहाँ ९० वटा लक्जरियस कोठा रहेका छन्। होटलको सेवा विस्तार गर्नकै लागि आईपीओबाट उठेको रकममध्ये ९ करोड रुपैयाँ लगानी गरिने बताइएको छ। आईपीओबाट संकलन हुने कुल रकममध्ये ३० करोड रुपैयाँ बैंकको ऋण र ब्याज भुक्तानीमा प्रयोग गरिनेछ भने ९ करोड रुपैयाँ क्रिस्टल होटलको सेवा र क्षमतावृद्धिमा खर्च गरिने कम्पनीले स्पष्ट पारेको छ। कम्पनीले इक्रा नेपालबाट बीबी माइनस क्रेडिट रेटिङ पाएको छ, जसले मध्यम स्तरको जोखिम जनाउँछ। तथापि, प्रतिसेयर आम्दानी १ रुपैयाँ ८८ पैसा, नेटवर्थ ११३ रुपैयाँ, र ४ करोड ८२ लाख सञ्चित नाफाले कम्पनीलाई दीर्घकालीन लगानीका लागि आकर्षक देखाएको छ।