जेठ १५, काठमाडौं –आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत बजेटमा कृषि तथा पशुपन्छी क्षेत्रलाई बहुआयामिक प्राथमिकतासहित ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा बजेट प्रस्तुत गर्दै देशको कृषिलाई आत्मनिर्भर, आधुनिक र व्यवसायिक बनाउने दावीसहित बहुपक्षीय कार्यक्रमहरू समावेश गरेका छन्।
बजेटमा रासायनिक मल खरिदमा अनुदान यथावत राखिएको छ भने प्रांगारिक मल प्रयोगमा किसानलाई प्रोत्साहन गर्ने स्पष्ट योजना उल्लेख गरिएको छ। साथै, बाँदर जस्ता बाली नष्ट गर्ने वन्यजन्तु नियन्त्रण गर्न पाइलट कार्यक्रम सुरु गर्ने घोषणा गरिएको छ।
कृषकको उत्पादन सिधै बजारसम्म पुगोस् भन्ने उद्देश्यले बीउ उत्पादन, आपूर्ति, वितरण व्यवस्थापनदेखि आधुनिक हाटबजार, संकलन केन्द्र र कोल्ड चेम्बर निर्माण जस्ता कार्यक्रमहरू अघि सारिएको छ। बुटवलको सेमलारमा क्षेत्रीय कृषि बजार निर्माण गरिनेछ भने संघीय कृषि बजारहरूको स्तरोन्नती गरिनेछ।
चिया, कफी, अलैँची, छुर्पीजस्ता निर्यातमुखी बालीको उत्पादन वृद्धि र प्रमाणीकरण लगायतका कार्यक्रम बजेटमा समावेश छन्। यसका साथै, बाँझो जमिन सदुपयोग कार्यक्रम र रैथाने बालीको प्रवर्द्धनमार्फत स्थानीय कृषि उत्पादनमा विविधता ल्याउने लक्ष्य राखिएको छ।
पशुपन्छी तथा मत्स्य बीमा कार्यक्रम, खोरेतजस्ता महामारीजन्य रोग नियन्त्रण, भैँसी, राँगा र याक÷चौरी पालन कार्यक्रमलाई बजेटले प्राथमिकतामा राखेको छ। मासु उत्पादन र निर्यातका लागि पाडा÷पाडी पालन कार्यक्रमले पशुपालन व्यवसायमा नयाँ ऊर्जा दिने अपेक्षा गरिएको छ।
स्थानीय तहमा प्राविधिक जनशक्ति पुर्याउन ‘एक गाउँ, एक प्राविधिक’ कार्यक्रम सुरु गरिनेछ भने विषादी चेकजाँच र सचेतना अभियान विस्तार गरिनेछ।