काठमाडौं, जेठ १५- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को बजेटले खर्च अनुशासन, वित्तीय मितव्ययिता र सीमित स्रोतको अधिकतम उपयोगमा विशेष प्राथमिकता दिएको छ। यथार्थपरक र व्यावहारिक भनिएको यो बजेटले विगतका कमजोरीबाट पाठ सिक्दै आर्थिक अनुशासनलाई संस्थागत गर्ने प्रयास गरेको देखिन्छ।
‘हामीले स्रोतको सीमा बुझेका छौं, तर सम्भावनाको सीमा फैलाउन चाहन्छौं,’ अर्थमन्त्री पौडेलले बजेटपछिको संक्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, ‘बजेटले उत्पादनशील क्षेत्रमा लगानी बढाउने, रोजगारी सिर्जना गर्ने र उद्यमशीलतालाई प्रवर्धन गर्ने लक्ष्य लिएको छ।’
बजेटमा विशेषगरी युवा उद्यमशीलता, स्टार्टअप प्रवर्द्धन र निजी क्षेत्रलाई उत्प्रेरणा दिने खालका कार्यक्रम समेटिएका छन्। सीमित स्रोतलाई बढी प्रतिफल दिने आयोजनामा केन्द्रित गरिएको अर्थमन्त्रीको भनाइ छ।