१६ जेठ, पोखरा — गण्डकी प्रदेश सरकारले राइड सेयरिङ र सेल्फ ड्राइभ सेवा कानुनी दायरामा ल्याउने नियमावली लागू गरेपछि यसको स्वागतभन्दा विरोध बढी देखिएको छ। नयाँ प्रविधिको स्वीकारोक्तिमा अगाडि बढेको प्रदेश सरकारको निर्णयले यातायात व्यवसायीहरू आन्दोलित भएका छन्, जसको असरमा गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प छ। गण्डकी प्रदेशले ३० गते मन्त्रिपरिषद्बाट पास गरी राजपत्रमा प्रकाशित गरेको “राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापन नियमावली” मार्फत निजी सवारीमार्फत यात्रु सेवा सञ्चालन गर्न कानुनी ढोका खोलिएको हो। तर, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ नेतृत्वमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। पोखरा लगायत गण्डकीका सहर–बजारमा बिहानदेखि लामो दूरीका बस, ट्याक्सी र ढुवानी साधनसमेत चल्न सकेका छैनन्। १६ हजारभन्दा बढी सवारी साधन ग्यारेजमा थन्किएका छन्। राइड सेयरिङ मान्यता फिर्ता नलिए आन्दोलन अझ चर्काउने चेतावनी व्यवसायीहरूले दिएका छन्। व्यवसायीहरूले १९ गतेदेखि देशव्यापी यातायात सेवा ठप्प पार्ने घोषणा गरिसकेका छन्।