काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण संघीय संसदमा पेस गर्दै मुलुकको अर्थतन्त्रले स्थिरता तर्फ पाइला टेके पनि विकासको गति अपेक्षाकृत सुस्त रहेको संकेत गरेका छन्। उनले चालु वर्षमा ४.६१ प्रतिशतको आर्थिक वृद्धि दर रहने अनुमान प्रस्तुत गर्दै मधेश, कोशी र सुदूरपश्चिमबाहेकका सबै प्रदेशको वृद्धिदर राष्ट्रिय औसतभन्दा माथि रहने उल्लेख गरे। आर्थिक सर्वेक्षण अनुसार देशको कुल अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुगेको छ। कुल गार्हस्थ उत्पादन (जीडीपी) मा कृषिको योगदान अझै २५.१६ प्रतिशत रहेको देखिएको छ। यसले नेपालको अर्थतन्त्र अझै पनि परम्परागत कृषि प्रणालीमा निर्भर रहेको देखाउँछ, जसले दीर्घकालीन औद्योगिक विकासको आवश्यकता झल्काउँछ। चालु वर्षको मुद्रास्फीति दर ४.७२ प्रतिशत मा सीमित रहने अनुमान गरिएको छ, जुन सन्तुलित मूल्यस्तरको सूचक मानिन्छ। तर, सार्वजनिक ऋण २६ खर्ब ७६ अर्ब पुगेको तथ्यले सरकारको वित्तीय व्यवस्थापन अझ विवेकपूर्ण र खर्चमुखी हुनुपर्ने सन्देश दिन्छ। अर्थमन्त्री पौडेलले सवै स्थानीय तहमा बैंकको शाखा पुगेको र वित्तीय पहुँच विस्तार भएको उल्लेख गर्दै यसलाई वित्तीय समावेशीकरणतर्फको ठूलो उपलब्धि बताए।