१६ जेठ, काठमाडौं — अटोमोबाइल क्षेत्रका व्यवसायीहरूका लागि आगामी आर्थिक वर्षको बजेट ‘उत्साहजनक संकेत’ बनेको छ। नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आर्थिक वर्ष २०८२/८३ को बजेटलाई व्यवसायमैत्री भन्दै नेपाल सरकारप्रति कृतज्ञता प्रकट गरेको छ। नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीद्वारा हस्ताक्षरित वक्तव्यमा उल्लेख गरिएको छ कि “बर्षौं देखिको अटोमोबाइल क्षेत्रको माग र आवाजलाई बजेटले सम्बोधन गरेको छ, जुन सकारात्मक र प्रोत्साहनजनक छ।” नाडाले अघिल्लो समय विभिन्न मन्त्रालय र विभागहरूमा नीति सुधारका लागि सल्लाह र सुझावहरू प्रदान गरेको थियो। तीमध्ये धेरै सुझावहरू बजेटमा समावेश गरिएको नाडाको भनाइ छ। सङ्घीय संसदमा जेठ १५ गते प्रस्तुत बजेटले व्यवसायी तथा उद्यमीहरूलाई उत्साहित बनाएको भन्दै, यसले “अर्थतन्त्रलाई चलायमान बनाउने विश्वास” व्यक्त गरिएको छ। नाडाले बजेटले सकारात्मक दिशा दिएको भन्दै, आउँदो मौद्रिक नीति पनि व्यवसायमैत्री हुने अपेक्षा राखेको छ। “बजेटले सकारात्मक सन्देश दिएको छ, अब नेपाल राष्ट्र बैंकको मौद्रिक नीति पनि अनुकूल आएमा यो क्षेत्र थप गतिशील हुनेछ,” वक्तव्यमा भनिएको छ।