+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजनीति

कांग्रेसद्वारा उच्च शिक्षाका आयाम विषयक विमर्ष : नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड

जनवाच
२ दिन अगाडी

काठमाडौं, जेठ १३ । देशबाट दिनहुँ उच्च शिक्षाका लागि विदेशिने नेपाली युवालाई रोक्न नेपाली कांग्रेसले शिक्षामा आमूल सुधार र सम्भावनाको ढोका खोल्ने गरी बहस अगाडि बढाएको छ। उच्च शिक्षाका आयामबारे सोमबार काठमाडौंमा आयोजित विमर्शमा प्रमुख नेतादेखि शिक्षाविद्हरूसम्मले नेपालको शिक्षा प्रणालीलाई नयाँ युगमा प्रवेश गराउने खाका प्रस्तुत गरे।

सभापति शेरबहादुर देउवाले नेपाललाई “शिक्षाको अन्तर्राष्ट्रिय हब” बनाउन सकिने सम्भावनामा जोड दिँदै भने, “हाम्रो देशमा सुन्दरता र शान्तिको वातावरण छ, यदि शिक्षा प्रणाली मजबुत बनाउन सक्यौं भने विदेशी विद्यार्थी पनि यहाँ पढ्न आउन सक्छन्।” देउवाको भनाइले शिक्षा सुधारको एजेन्डालाई कूटनीतिक र आर्थिक अवसरसँग पनि जोडिएको संकेत दिएको छ।

कार्यक्रममा शिक्षा मन्त्री रघुजी पन्तले आफू विद्यार्थीको भूमिकामा रहेको भन्दै विज्ञहरूबाट मार्गदर्शनको अपेक्षा व्यक्त गरे। उनले भने, “पत्रकारिता हुँदै संसद र अब शिक्षा मन्त्रालयमा आइपुगेको छु, मलाई बाटो देखाइदिनुहोस्। म अझै पाठक नै छु।” पन्तले नीति बनाउने तर कार्यान्वयन नगर्ने प्रवृत्तिलाई पनि परिवर्तन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा बोल्दै शिक्षाविद्हरूले शिक्षा क्षेत्रमा राजनीतिक हस्तक्षेपले गुणस्तरमा गम्भीर असर पारेको बताए। त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमाले योग्य र दक्ष नेतृत्वको अभावमा शिक्षा संस्थाहरूले आफ्नो गरिमा गुमाउँदै गएको बताए। उनले कांग्रेसले फेरि बहसको संस्कृति फर्काएर आशा देखाएको उल्लेख गरे।

त्यस्तै, डा. अमरराज जोशीले “शिक्षामा कुनै सर्त, दबाब वा प्रभाव हुनु हुँदैन” भन्दै शिक्षा क्षेत्रलाई स्वतन्त्र र निष्पक्ष बनाउनु पर्ने बताए। शिक्षाविद् डा. तीर्थ खनियाले सरकारले बनाएको निर्णय लागू नगर्ने प्रवृत्तिलाई मुख्य समस्या भन्दै, संवादविहीन शासनले शिक्षा थला परेको टिप्पणी गरे।

शिक्षा विभाग प्रमुख तथा केन्द्रीय सदस्य नैनसिंह महरले पछिल्लो ६ महिनामा १९ वटा बहस र छलफल गरी देशभर शिक्षा नीति निर्माणको बहस अघि बढाइएको जानकारी दिए। “हामी देशका १६५ वटै निर्वाचन क्षेत्रमा पुगेर नागरिककै सहभागितामा शिक्षा नीति बनाउनेछौं,” उनले बताए।
महरका अनुसार, “नेपालको शिक्षा प्रणालीलाई वैश्विक प्रतिस्पर्धा योग्य बनाउनु आजको आवश्यकता हो।”

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ