पाँचथर – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले कार्यकर्ताहरूलाई नेताको पछाडि मात्र दौडिने होइन, आत्मनिर्भर र स्वाभिमानी बन्ने बेला आएको स्पष्ट सन्देश दिएका छन्। पाँचथरको फालेलुङमा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा उनले पार्टीभित्रको संस्कार परिवर्तनको आवश्यकता औंल्याउँदै नेतृत्वलाई चुनौती दिन सक्ने क्षमतावान कार्यकर्ताको खाँचो रहेको बताए।
“झोला बोक्ने कार्यकर्ता होइन, सोच बोक्ने कार्यकर्ता बनौं,” उनले जोड दिँदै भने, “नेताप्रति समर्पण ठीक हो, तर जनताप्रति उत्तरदायित्व अझ आवश्यक छ।”
कोइरालाले कार्यकर्ताहरूलाई केवल नेतालाई खुसी पार्ने माध्यम बन्न नहुने सन्देश दिँदै जनताको समस्यामा काम गर्ने व्यवहारिक कार्यकर्ताको खोजीमा पार्टी लाग्नुपर्ने बताए। “नेताले मात्र होइन, कार्यकर्ताले पनि पार्टीको अनुहार र चरित्र बनाउने हो,” उनले भने।
कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा टिप्पणी गरे। “प्रधानमन्त्रीले कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिन मिल्दैन,” उनले भने, “राजनीतिक अभिव्यक्तिको पनि सीमा हुन्छ, जुन ओलीजीले क्रस गर्दै जानुभएको छ।”
उनले जेठ १५ गते काठमाडौं कब्जाको आह्वानलाई संविधान र लोकतान्त्रिक मूल्य विपरित भन्दै यस्तो शैलीले देशलाई मुठभेडतर्फ धकेल्ने खतरा रहेको चेतावनी दिए। सोही दिन राजावादी समूहले पनि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेको स्मरण गराउँदै उनले राजनीतिलाई शान्तिपूर्ण प्रतिस्पर्धाको माध्यम बनाउन आग्रह गरे।