+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

समाचार

डा. भोला रिजालको मेरो मृत्युपछि : सन्देशमूलक गीत सार्बजनिक

जनवाच
४ घण्टा अगाडी

काठमाडौं, जेठ ११ – साहित्य, संगीत र चिकित्सा तीनै क्षेत्रमा सफल यात्राका पर्याय बनिसकेका डा. भोला रिजालले ‘मेरो मृत्युपछि’ शीर्षकको मर्मस्पर्शी गीतमार्फत अंगदानजस्तो संवेदनशील विषयमा गहिरो सन्देश दिएका छन्।

गीत न्ह्यु बज्राचार्यको संगीत, प्रविण बेडवालको स्वर र डा. रिजालकै शब्दमा सुसज्जित छ। भिडिओ आज राजधानीमा आयोजित विशेष समारोहबीच सार्वजनिक गरियो। गीतकार सङ्घ नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा गीतकार सङ्घ अध्यक्ष वसन्त वित्याशी थापाको अध्यक्षता तथा विविध सर्जक, चिकित्सक र सिनेक्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

भिडिओमा डा. भोला रिजाल स्वयं, साथै डा. पुकारचन्द्र श्रेष्ठ, डा. रिता गुरुङ, डा. भगवान कोइराला जस्ता अग्रज व्यक्तित्वहरू देखिन्छन्, जसले यस भिडिओलाई केवल कलात्मक मात्र नभई विश्वसनीयता र प्रभावको दृष्टिले समेत शक्तिशाली बनाएको छ। भिडिओ वीरेन्द्र भाट ‘विपिन’ को निर्देशनमा तयार गरिएको हो भने निर्माणमा सरला रिजाल रही छिन्।

‘मेरो मृत्युपछि’ गीतले मृत्युपछि शरीरका उपयोगी अंगहरू दान गर्न सकिने र त्यसबाट अरूलाई जीवन दिन सकिने गहिरो सन्देश दिन्छ। भिडिओले दर्शकलाई सोच्न बाध्य पार्ने ढङ्गमा मानवीय संवेदना, उत्तरदायित्व र सामाजिक उत्तरदायित्वको आभास गराउँछ।

डा. भोला रिजाल न केवल एक जेष्ठ स्त्रीरोग विशेषज्ञ हुन्, उनी नेपाली गीत–साहित्यका उत्कृष्ट सर्जक पनि हुन्। २०२० सालमा उनले रचना गरेको ‘म मान्दिनँ जात र धर्म कसैको’ नेपाली सामाजिक चेतनाको ऐतिहासिक दस्तावेज हो। हालसम्म ३५ सयभन्दा बढी गीत लेखेका, ३०० बढी गीतमा स्वर दिइसकेका रिजाल १३ वटा एल्बम र ८ वटा चलचित्र निर्माण गरिसकेका छन्।

उनी कलाकारितामा पनि सशक्त छन् – भारतसम्म पुगेर नाटक मञ्चन गर्ने अनुभव भएका रिजालको साहित्यिक पृष्ठभूमि पारिवारिक परम्पराबाट आएको हो। उनका हजुरबुबा र बाबु दुवै साहित्यिक प्रतिभाका धनी थिए।

‘मेरो मृत्युपछि’ केवल गीत वा भिडिओ मात्र होइन, अंगदान अभियानप्रति जनचेतना अभिवृद्धि गर्ने माध्यम पनि हो। कार्यक्रमका वक्ताहरूले यो गीतलाई शिक्षामूलक दस्तावेजका रूपमा विद्यालयदेखि अस्पतालसम्म पुर्याउन सकिने सुझाव दिएका थिए।

भिडिओ लोकार्पण समारोहमा डा. पुकार श्रेष्ठ, डा. सुधिर शर्मा, सरला श्रेष्ठ, जिबराम भण्डारी, हरिभक्त शर्मा लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति तथा सञ्चालक सुमन बैरागी पण्डितको संयोजनले समारोहलाई भावनात्मक र सन्देशमूलक बनाएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

जनवाच

ट्रेन्डिङ