काठमाडौं – योजनाको फाइल हेर्ने होइन, मैदानमा खटिने मन्त्रीको शैली अपनाउँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगातार फिल्डमा सक्रिय छन्। काठमाडौंका ठूला पूर्वाधार आयोजना ढिलो हुनुको आलोचना भइरहेका बेला मन्त्री दाहालले स्वयम् स्थलगत अनुगमनमा उत्रिएर काममा गति दिन थालेका छन्। आईतबार दिनभर मन्त्री दाहाल राजधानीका तीन मुख्य आयोजनाको निरीक्षणमा जुटे — ग्वार्को फ्लाईओभर, थानकोट फ्लाईओभर र नागढुंगा सुरुङ मार्ग। उहाँको टोलीमा मन्त्रालयका सचिवदेखि इन्जिनियरसम्मको उपस्थिति थियो। अनुगमनको थालनी ग्वार्को फ्लाईओभरबाट भयो। काम निर्धारित म्याद नाघिसकेको भन्दै मन्त्री दाहालले ठेकेदारलाई जेठ महिनाभित्र योजना सम्पन्न गर्न निर्देशन दिनुभयो। उहाँले निर्माण सकिनासाथ सवारीसाधन सञ्चालन गरिने जानकारी समेत दिनुभयो। त्यसपछि मन्त्री दाहाल थानकोटतर्फ लाग्नुभयो। राजधानी प्रवेशद्वार मानिने सो स्थानमा निर्माणाधीन फ्लाईओभरको निरीक्षण गर्दै उहाँले यातायातको चाप घटाउने मुख्य पूर्वाधारको रूपमा यसलाई उल्लेख गर्नुभयो। हाल फ्लाईओभरको संरचनागत काम सकिएको र कालोपत्रे बाँकी रहेको जानकारी दिइएको छ। मन्त्री दाहालको निरीक्षणको अन्तिम गन्तव्य बन्यो — नागढुंगा सुरुङ मार्ग। नेपालमा पहिलोपटक निर्माणाधीन यस आधुनिक सुरुङमार्गलाई उहाँले “सुरुङ युगको थालनी” भन्नुभयो। मुख्य संरचना निर्माण सकिएको र सुरुङ सञ्चालनको मोडालिटी निर्माणको अन्तिम चरणमा रहेको मन्त्रालयले जनाएको छ।